काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। बाढीबाट प्रभावित रसुवा तथा अन्य क्षेत्रका तस्बिर तथा भिडियोले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको ग्रुपले जनाएको छ।
बाढी तथा विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै ग्रुपले अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा रहेको जनाएको छ।
गोल्छा ग्रुपका शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत यस्तो कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु सबैको साझा प्राथमिकता भएको बताएका छन्।
विपत्तिको समयमा निजी क्षेत्र पनि एकजुट भएर सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा योगदान दिनुपर्नेमा जोड दिँदै ग्रुपले मानवीय सहायता कार्यमा सहयोगस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ प्रदान गर्न लागेको जनाएको हो।
गोल्छा ग्रुपले बाढीबाट प्रभावित सबै परिवार तथा समुदायप्रति आफ्नो साथ, ऐक्यबद्धता र सहयोग निरन्तर रहने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

