काठमाडौँ । रसुवामा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत २ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्। बाढीका कारण आयोजनाका हेडवर्क्स, पावरहाउस तथा पहुँचमार्गमा क्षति पुगेपछि उद्धार कार्यमा समेत कठिनाइ भइरहेको छ।
प्राप्त विवरणअनुसार निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा मात्रै ७६ जना एन्ड्रिज हाइड्रोका कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूमध्ये करिब आधा नेपाली र आधा विदेशी नागरिक रहेको बताइएको छ।
त्यस्तै, आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना पनि सम्पर्कविहीन छन्। उनीहरूमध्ये आयोजनामा कार्यरत ८ जना कोरियन नागरिक रहेको जानकारी प्राप्त भएको छ।
आयोजनाको परामर्शदाता जेड कन्सल्ट तथा लामा जेभियर्स जेभीका ७ जना समेत सम्पर्कविहीन रहेको बताइएको छ। आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना तथा पावरहाउस क्षेत्रमा २०० भन्दा बढी व्यक्ति उद्धारको पर्खाइमा रहेको विवरण प्राप्त भएको छ।
आयोजना स्थलबाट पहिलो चरणमा केही व्यक्तिको उद्धार भइसकेको भन्ने अपुष्ट सूचना आए पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
रसुवागढी आयोजनामा ५१ जना सम्पर्कविहीन
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन रहेको बताइएको छ। बाढीबाट प्रभावित तिमुरे क्षेत्रमा तीन जनाले अग्लो स्थानमा पुगेर ज्यान जोगाएको जानकारी प्राप्त भए पनि उनीहरूसँग समेत हालसम्म सञ्चार सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ।
मैलुङ खोलाका ८ कर्मचारीको अवस्था अज्ञात
५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको पावरहाउसमा कार्यरत ८ जना कर्मचारी बुधबारदेखि नै सम्पर्कविहीन छन्। उनीहरूको अवस्था बुझ्न हेलिकप्टरमार्फत स्थलगत अवलोकन गर्ने प्रयास भइरहेको बताइएको छ।
रसुवा भोटेकोशी आयोजनाका २ जना हराए
१२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत् आयोजनामा सिभिल ठेकेदार कम्पनी सिनो हाइड्रोका दुई जना सम्पर्कविहीन छन्। अन्य पाँच जना भने नजिकैको गाउँमा आश्रय लिएर बसेका छन्।
गाउँमा रहेका पाँच जनामध्ये तीन जना चिनियाँ र दुई जना नेपाली नागरिक रहेको बताइएको छ। उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ।
लाङटाङ खोलामा सुरुङभित्र रहेका ६० जनाको अवस्था अज्ञात
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा बुधबार बाढीका कारण सुरुङभित्र थुनिएका ६० जनासँग अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन। उनीहरूमध्ये २५ जना स्टाफ र ३५ जना कामदार रहेको बताइएको छ।
सुरुङभित्र रहेका सबैको अवस्था हालसम्म अज्ञात रहेको छ। विकासकर्ता कम्पनीका प्रतिनिधिहरू प्रभावित क्षेत्रमा पुगेर उद्धारको प्रयास अघि बढाए पनि हेलिकप्टरको व्यवस्था हुन नसक्दा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको जनाइएको छ।
भोटेकोशी बाढीका कारण रसुवाका जलविद्युत् आयोजनाहरूमा कार्यरत ठूलो संख्याका व्यक्ति सम्पर्कविहीन भएपछि उद्धारका लागि तत्काल हवाई तथा स्थलमार्गबाट प्रभावकारी समन्वय आवश्यक देखिएको छ। सञ्चार सम्पर्क विच्छेद भएका कारण कतिपय आयोजनामा रहेका व्यक्तिको वास्तविक अवस्था यकिन गर्नसमेत कठिनाइ भइरहेको छ।

