काठमाडौँ । रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले नागरिक, स्वयंसेवी संस्था तथा सरोकारवालालाई सरकारी संयन्त्रसँग समन्वय गरेर मात्रै राहत तथा उद्धारमा सहभागी हुन आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रमा पूर्वसमन्वयविना साना निजी सवारीसाधनमा थोरै–थोरै राहत सामग्री बोकेर व्यक्तिगत रूपमा जाने क्रम बढेपछि सडकमा अत्यधिक सवारी चाप र जाम हुन थालेको सचिवालयले जनाएको छ।
यसले आपत्कालीन बिरामी बोकेका एम्बुलेन्सलाई आवतजावतमा समस्या हुनुका साथै नेपाल सरकारका उद्धार टोली तथा प्राथमिकतामा रहेका राहत सामग्री बोकेका सवारीसाधनसमेत समयमै प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको सचिवालयको भनाइ छ।
सचिवालयका अनुसार विषम अवस्था र जोखिमयुक्त भूगोलमा पर्याप्त पूर्वतयारीबिना पुग्दा राहत लिएर जाने स्वयंसेवक तथा सहयोगदाताको सुरक्षामा समेत जोखिम बढेको छ।
त्यसैले व्यक्तिगत रूपमा प्रभावित क्षेत्रतर्फ गएर राहत वितरण गर्ने कार्य रोक्दै सरकारी संयन्त्रसँग समन्वय गर्न सचिवालयले अपिल गरेको हो।
अब राहत वितरण वा उद्धार कार्यमा सहयोग गर्न चाहने नागरिक तथा संस्थाले सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय ९सिडिओ कार्यालय० मा अनिवार्य रूपमा सम्पर्क गरी पूर्वसमन्वय गर्नुपर्ने सचिवालयले जनाएको छ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री संकलन तथा परिचालन गरी सोझै आवश्यक स्थानमा पुर्याउने एकीकृत व्यवस्था मिलाउने बताइएको छ।
प्रधानमन्त्री सचिवालयले विपद्को कठिन अवस्थामा पीडितलाई सहयोग गर्न नागरिक तथा सामाजिक संघसंस्थाले देखाएको तत्परता र सद्भावको प्रशंसा गर्दै राज्यको आधिकारिक संयन्त्रमार्फत अनुशासित र व्यवस्थित रूपमा राहत उपलब्ध गराउन आग्रह गरेको छ।
‘राहत पुर्याउने नाममा थप भिडभाड र जोखिम नबढाऔँ, सरकारी संयन्त्रसँग समन्वय गरेर वास्तविक पीडितसम्म छिटो राहत पुर्याऔँ’ भन्ने भावनासहित सचिवालयले सबैलाई सहयोगका लागि आह्वान गरेको छ।

