काठमाडौं । चीनको तिब्बतमा पहिरोपछि बनेको तालबाट थप बाढी आउन सक्ने जोखिम बढेपछि उद्धार तथा खोजी कार्य स्थगित गरिएको छ।
अलजजिराका अनुसार चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमलाई उद्धृत गर्दै सरकारले उद्धार टोलीलाई घटनास्थलबाट कम्तीमा एक किलोमिटर टाढा सुरक्षित स्थानमा हट्न निर्देशन दिएको छ। पहिरो गएको दुई दिन बितिसक्दा पनि तिब्बतमा सयौँ मानिस अझै बेपत्ता रहेको बताइएको छ।
चीन–नेपाल सीमा नजिकै तिब्बतको केरुङ क्षेत्रमा बुधबार ठूलो पहिरो गएको थियो। पहिरोसँगै बगेको माटो, लेदो र भग्नावशेष थुप्रिएपछि त्यहाँ ठूलो ताल बनेको हो।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार निरन्तरको वर्षाका कारण तालको जलस्तर अझै बढिरहेको छ। आगामी तीन दिनसम्म पानीको सतह बढ्ने र सेप्टेम्बर १ (भदौ १६) आसपासमा उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ।
ताल भरिँदै गएपछि उद्धार टोली परिचालित क्षेत्रमा पानी बग्न थालेको र ताल फुट्न सक्ने जोखिम बढेको अधिकारीहरूले बताएका छन्। ताल फुटेमा केरुङ बन्दरगाहसहित तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने तथा थप क्षति हुन सक्ने चेतावनी दिइएको छ।
सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार आपत्कालीन इन्जिनियरिङ टोलीले तालको अवस्था निरन्तर निगरानी गरिरहेका छन्। उद्धार टोलीलाई सुरक्षित स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ।
यसअघि घटनास्थलमा खटिएका आपत्कालीन टोलीलाई पनि जोखिम बढेपछि एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको सीसीटीभीले जनाएको छ।
शुक्रबारसम्म प्रकोप प्रभावित क्षेत्रबाट ४९९ चिनियाँ नागरिक र ५५५ विदेशी नागरिक गरी १ हजार ५४ जनालाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।
यद्यपि, बेपत्ता व्यक्तिहरूको खोजी भने जारी छ। एएफपीका अनुसार उद्धारकर्मीहरूले ड्रोनमा आधारित थ्रीडी मोडलिङ, थर्मल इमेजिङ तथा प्रत्यक्ष खोजी प्रविधिको प्रयोग गरिरहेका छन्।
उद्धार अभियान तत्कालका लागि स्थगित गरिए पनि जोखिमको अवस्था मूल्यांकन गरी सुरक्षित भएपछि खोजी तथा उद्धार कार्य पुनः सञ्चालन गर्ने तयारी गरिएको छ।

