२०८३, भाद्र १३ गते

images
  • समाचार
  • तिब्बततर्फ ड्याम पुनः फुटेको सूचना, तटीय...

तिब्बततर्फ ड्याम पुनः फुटेको सूचना, तटीय क्षेत्रमा सतर्क रहन प्रहरीको आग्रह

तिब्बततर्फ ड्याम पुनः फुटेको सूचना, तटीय क्षेत्रमा सतर्क रहन प्रहरीको आग्रह

images
शुक्रवार, भाद्र १२ २०८३११:५८
शुक्रवार, भाद्र १२ २०८३११:५८
  • काठमाडौं । तिब्बततर्फ पानी जमेको तालको ड्याम पुनः फुटेको सूचना प्राप्त भएपछि नेपाल प्रहरीले सीमावर्ती तथा तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

    शुक्रबार चिनियाँ पक्षबाट तिब्बत क्षेत्रमा पानी जमेको तालको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएपछि प्रहरीले उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको हो।

    नेपाल प्रहरीले सूचना जारी गर्दै भनेको छ, ‘तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान तथा जानकारी गराउन अनुरोध छ।’

    यसैबीच, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले सम्भावित जोखिमको अवस्थाबारे हेलिकप्टरमार्फत हवाई निरीक्षण (रेक्की) गरिएको जानकारी दिएका छन्।

    बुधबार तिब्बत क्षेत्रमा हिमताल फुटेपछि आएको बाढीले नेपालतर्फ रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो क्षति पुर्‍याएको थियो। बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले उद्धार तथा राहतका काम जारी राखेका छन्।

    तीन दिनअघि आएको बाढीपछि पनि तिब्बततर्फ पानी पूर्ण रूपमा नसुकेको र पुनः पानी जम्न थालेको जानकारी चिनियाँ पक्षले यसअघि नै गराएको थियो। उक्त सूचनापछि नेपाली सुरक्षा निकायले सीमावर्ती तथा तटीय क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गर्दै आएको थियो।

    पुनः ड्याम फुटेको पछिल्लो सूचनापछि भने नदी तथा खोलाको तटीय क्षेत्रमा थप सतर्कता अपनाउन र जोखिम देखिए तत्काल सुरक्षित स्थानमा जान सुरक्षा निकायले आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend