२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • बाढी प्रभावित पालिका अध्यक्षसँग रवि लामिछानेको...

बाढी प्रभावित पालिका अध्यक्षसँग रवि लामिछानेको टेलिफोन संवाद, तत्काल उद्धार र राहतका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता

बाढी प्रभावित पालिका अध्यक्षसँग रवि लामिछानेको टेलिफोन संवाद, तत्काल उद्धार र राहतका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता

आइतवार, भाद्र १४ २०८३०४:१४
आइतवार, भाद्र १४ २०८३०४:१४
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी–पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका स्थानीय तहका प्रमुखसँग टेलिफोन संवाद गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

    भाद्र १० गते आएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका स्थानीय तहका अध्यक्षहरूसँग लामिछानेले आज रास्वपा केन्द्रीय कार्यालयबाट टेलिफोनमार्फत संवाद गरेका हुन्। केन्द्रीय तहका नेताहरूलाई समेत साथमा राखेर गरिएको संवादमा उनले बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय तहले भोगिरहेका समस्या र तत्काल आवश्यकताबारे जानकारी लिएका थिए।

    संवादका क्रममा रसुवाका विभिन्न पालिका अध्यक्षहरूले सडक, विद्युत्, शव व्यवस्थापन, खाद्यान्न तथा सुरक्षालगायतका विषयलाई तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।

    गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले क्षतिग्रस्त सडक सञ्जाल तत्काल पुनःस्थापना गरी रसुवालाई मूल सडक सञ्जालसँग जोड्नुपर्ने बताए। उनले बाढीमा मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि आवश्यक सामग्रीको अभाव रहेको भन्दै तत्काल व्यवस्था गर्नुपर्ने र विद्युत् आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाउनुपर्ने माग गरे।

    आमाछोदिङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि थप प्रभावकारी उपाय तत्काल अपनाउनुपर्ने बताए। उनले विद्युत् आपूर्ति सुनिश्चित गर्न सीमित भए पनि जेनेरेटरको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

    कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताउँदै तातो खाना पकाउन आवश्यक ग्यासको पूर्ण अभाव रहेको जानकारी दिए। उनले तत्काल करिब एक हजार ग्यास सिलिन्डरको व्यवस्था गर्नुपर्ने तथा नेपाल विद्युत् प्राधिकरणले विद्युत्का खम्बा गाड्ने र तार तान्ने काम शीघ्र सुरु गर्नुपर्ने माग गरे। साथै उनले जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको कार्यसम्पादन प्रभावकारी नभएको गुनासोसमेत गरेका थिए।

    उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बाढीबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनलाई सबैभन्दा गम्भीर र तत्काल समाधान गर्नुपर्ने समस्या बताए। उद्धारमा सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन हुँदा नियमित जनसुरक्षाका काम प्रभावित भएको भन्दै उनले थप सुरक्षाकर्मी परिचालन गर्न माग गरे।

    त्यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिका प्रमुख जगतबहादुर गुरुङले वैकल्पिक सडक तत्काल खोल्नुपर्ने र विस्थापितहरूका लागि अस्थायी आवासको व्यवस्था गर्नुपर्ने बताए। उनले प्रमुख जिल्ला अधिकारीसँग आवश्यक समन्वय गर्न कठिनाइ भइरहेको समेत जानकारी गराए।

    धादिङको गजुरी गाउँपालिकाका अध्यक्षले बाढी प्रभावित तथा विस्थापितका लागि तत्काल कम्तीमा १०० वटा टेन्ट आवश्यक रहेको बताए। उनले वैकल्पिक आवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

    सरकारसँग तत्काल समन्वय गर्ने लामिछानेको प्रतिबद्धता

    स्थानीय तहका प्रमुखहरूले उठाएका समस्या र आवश्यकताबारे जानकारी लिएपछि रास्वपा सभापति लामिछानेले उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा नेपाल सरकार र सम्बन्धित निकायसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    लामिछानेले स्थानीय तहबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित मन्त्रालय तथा मन्त्रीहरूसँग आवश्यक छलफल गरी समस्याको शीघ्र समाधानका लागि पहल गर्ने बताएका छन्। उनले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत, सडक तथा विद्युत् पुनःस्थापना र विस्थापितको व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

    लामिछानेले स्थानीय तहका प्रतिनिधिबाट प्राप्त समस्या सम्बन्धित सरकारी निकायसम्म पुर्‍याउने र आवश्यक सहयोग तथा समन्वयका लागि पहल गर्ने बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend