काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाहसँग भेट गरी रसुवाको भोटेकोशी बाढीपछिको अवस्था, उद्धार तथा राहतका विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले विपद्पछिको उद्धार कार्यलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट लिखित तथा मौखिक सुझाव दिएको जानकारी दिए । विशेषगरी सुरुङभित्र थुनिएका व्यक्तिको उद्धारका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको उनले बताए ।
घिसिङका अनुसार सुरुङभित्र फसेकाको उद्धारका लागि अत्याधुनिक प्रविधिभन्दा पनि दक्ष उद्धार टोली र आवश्यक उपकरण परिचालनमा जोड दिनुपर्ने अवस्था छ ।
उनले भने, “कुनै स्पेसल प्रविधि चाहिने होइन, साधारण उपकरण र दक्ष रेस्क्यु टिमबाटै काम गर्न सकिन्छ । मुख्य समस्या भनेको जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनजस्ता हेभी इक्विपमेन्ट घटनास्थलमा पुर्याउनु हो ।”
हेभी उपकरण घटनास्थलसम्म पुर्याउन आवश्यक हेलिकप्टरलगायतका साधन तत्काल परिचालन गर्नुपर्ने उनको सुझाव छ । उपलब्ध स्रोतसाधन र जनशक्तिलाई अधिकतम परिचालन गरेर उद्धारलाई तीव्रता दिनुपर्ने उनले बताए ।
घिसिङले बाढीका कारण उद्धार कार्यको सुरुआती चरणमा केही ढिलाइ भएको उल्लेख गर्दै अब आवश्यक स्रोतसाधन जुटाएर कामलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
“नेपालको स्रोत साधन र हेलिकप्टरले भ्याएसम्म हामीले काम गरिरहेका छौँ,” उनले भने, “आवश्यक परे विदेशबाट समेत उपकरण ल्याएर उद्धार कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्छ ।”
उनले विपद्को समयमा उपलब्ध सबै जनशक्ति र उपकरण परिचालन गरी उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

