२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • जेन–जी आन्दोलनको एक वर्ष : ‘प्रचण्डले...

जेन–जी आन्दोलनको एक वर्ष : ‘प्रचण्डले मागे निष्पक्ष छानबिन

जेन–जी आन्दोलनको एक वर्ष : ‘प्रचण्डले मागे निष्पक्ष छानबिन

बुधवार, भाद्र २४ २०८३१०:२५
बुधवार, भाद्र २४ २०८३१०:२५
  • images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएका दमन, हिंसा, आगजनी तथा विध्वंसबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्नुपर्ने बताएका छन् ।

    जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनमा भएको दमनदेखि हिंसा, लुटपाट र विध्वंससम्मका घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

    उनले प्रश्न गरेका छन्, ‘को दोषी थियो ? आन्दोलनमाथि दमन किन र कसरी भयो ? कसले आन्दोलन भड्कायो ? कसले हिंसा, लुटपाट र विध्वंस मच्चायो ? त्यसबाट लाभ कसले उठायो ?’ यी सबै प्रश्नको तथ्यपरक जवाफ खोजिनुपर्ने उनको भनाइ छ ।

    प्रचण्डले दोषी जोसुकै भए पनि राजनीतिक पहुँच वा शक्तिका आधारमा उन्मुक्ति दिन नहुने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले समेत घटनामा संलग्न विभिन्न पक्षमाथि अनुसन्धान तथा कारबाहीको आवश्यकता औँल्याएको भन्दै उनले प्रतिवेदनलाई कार्यान्वयन गर्न माग गरेका छन् ।

    उनले जेन–जी आन्दोलनको प्रारम्भिक माग अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यसँग सम्बन्धित रहेको उल्लेख गरेका छन् । तर राज्यले युवाको आवाजलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्नुको सट्टा दमनको बाटो रोजेको उनको आरोप छ ।

    आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय तथा राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक र निजी सम्पत्तिमा लुटपाट, आगजनी र विध्वंस भएको प्रचण्डले उल्लेख गरेका छन् ।

    ‘युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइन,’ उनले भनेका छन्, ‘दुईलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन।’

    प्रचण्डले भदौ २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’का रूपमा चित्रित गरेका छन् । उनले राष्ट्रिय स्वाधीनता तथा ऐतिहासिक र पुरातात्त्विक सम्पदामाथि भएको विध्वंसले पनि उक्त दिनलाई थप गम्भीर बनाएको बताएका छन् ।

    आफ्नो पार्टीलाई जेन–जी आन्दोलनका नाममा गरिएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न नसकिने पनि उनले बताएका छन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्धदेखि नै आफ्नो पार्टीले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको पक्षमा स्पष्ट धारणा राख्दै आएको उनको दाबी छ ।

    ‘जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?’

    प्रचण्डले जेन–जी आन्दोलनले उठाएका सवाल सम्बोधन हुन नसकेको भन्दै वर्तमान अवस्थाप्रति प्रश्नसमेत गरेका छन् ।

    ‘जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?’ भन्दै उनले भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र समान अवसरको अपेक्षा गरेका नागरिक पुनः निराश भएको बताएका छन् ।

    महँगी बढेको, अर्थतन्त्र शिथिल बनेको, व्यवसायी निराश रहेको, रोजगारीका अवसर पर्याप्त नभएको र युवाको विदेश पलायन बढिरहेको उनको दाबी छ । सार्वजनिक ऋण र जनतामाथिको करको बोझ बढेको तथा विपद्का समयमा समेत नागरिकले समयमै उद्धार, राहत र पुनःस्थापना पाउन नसकेको उनले बताएका छन् ।

    नयाँ सरकारले संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचनामै व्यापक फेरबदल गर्न खोजेको आरोप लगाउँदै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्ताजस्ता उपलब्धि कमजोर पार्ने कुनै पनि प्रयासको प्रतिवाद गर्ने बताएका छन् ।

    उनले लोकतन्त्रका कमजोरीको समाधान लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी, पारदर्शी, जनमुखी र परिणाममुखी बनाउनु भएको बताएका छन् । ‘लोकतन्त्रको सर्भिसिङ’ गर्दै लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनुपर्ने उनको धारणा छ ।

    पार्टीले आफ्ना विगतका अभ्यास र अनुभवबाट शिक्षा लिँदै पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण र राजनीतिक रूपान्तरण अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

    प्रचण्डले शान्ति, संविधान र लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपाली जनतालाई प्रतिगामी, निरंकुश र जनविरोधी प्रवृत्तिविरुद्ध एकताबद्ध हुन अपिलसमेत गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend