काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको जेन–जी आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड, लुटपाट र आगजनीलाई ‘घातक षड्यन्त्र’को संज्ञा दिएका छन् ।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै ओलीले शान्तिपूर्ण प्रदर्शनभित्र आपराधिक समूहले घुसपैठ गरी हिंसा भड्काएको आरोप लगाए । उनले आन्दोलनका क्रममा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसमेत गरेका छन् ।
ओलीले गत वर्ष भदौ २३ गतेको प्रदर्शनपछि भएको घटनामा ज्यान गुमाएका नवयुवा तथा कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले विध्वंसपछि पुनरुत्थानको प्रयासमा रहेका व्यवसायी तथा प्रभावितप्रति शुभेच्छा व्यक्त गरेका छन् ।
उनका अनुसार लोकतन्त्रमा नागरिकले आफ्ना अपेक्षा, असन्तुष्टि र माग शान्तिपूर्ण रूपमा राख्नु स्वाभाविक हो । संविधानले समेत वाक् स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै ओलीले नवयुवाले सुशासन र सामाजिक सञ्जालका विषयमा गरेको प्रदर्शनभित्र आपराधिक समूहले योजनाबद्ध रूपमा घुसपैठ गरेको दाबी गरे ।
‘शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर त्यस दुःखद अवस्थाको सिर्जना गर्ने तत्वहरूको उद्देश्य बेग्लै थियो,’ ओलीले भनेका छन् ।
भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनीलाई उनले अघिल्लो दिनको आवेग मात्र नभएको बताएका छन् ।
ओलीले उक्त घटनालाई **‘राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील बाटोलाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद र अराजकतामा होम्ने घातक षड्यन्त्र’**को संज्ञा दिएका छन् ।
‘भदौ २४ का आरोपीलाई किन उन्मुक्ति ?’
ओलीले भदौ २४ को विध्वंसका आरोपीमाथि कारबाही नभएको भन्दै प्रश्न उठाएका छन् । घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिएको आरोप लगाउँदै उनले दोषीलाई उन्मुक्ति दिन खोजिएको बताएका छन् ।
‘भदौ २४ को विध्वंसका आरोपीहरूलाई किन उन्मुक्ति दिइँदैछ ? किन प्रतिवेदनहरू गुपचुप राखिँदैछन् ?’ उनले प्रश्न गरेका छन् ।
जेन–जी युवाको मूल मनसाय र सरोकार सकारात्मक रहेको आफूहरूको बुझाइ भए पनि आन्दोलनबाट अन्य तत्वले अनुचित लाभ लिएको ओलीको दाबी छ । अहिले युवामा देखिएको निराशाको कारण पनि त्यही लाभग्राही शक्ति भएको उनले आरोप लगाए ।
उनले अब त्यस्तो घटना दोहोरिन नहुने बताएका छन् ।
लोकतान्त्रिक शक्तिलाई एकजुट हुन ओलीको आह्वान
ओलीले लोकतान्त्रिक संस्था र राजनीतिक दलविरुद्ध प्रतिशोध तथा घृणा फैलाउने प्रयासले मुलुकलाई पश्चगमनतर्फ धकेलिरहेको दाबी गरेका छन् ।
लोकतन्त्र, संविधान, राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्तिसहित शान्तिकामी जनता एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ ।
भदौ २४ को घटनालाई स्मरण गर्दै ओलीले दण्डहीनता र अराजकताविरुद्ध एकजुट हुने तथा राष्ट्रिय सुरक्षा र समृद्ध नेपाल निर्माणको बाटोमा अघि बढ्ने संकल्प गर्नसमेत आह्वान गरेका छन् ।

