२०८३, आश्विन १९ गते

images
  • समाचार
  • एलपी ग्यास व्यवसायीमाथि मन्त्रीको अभिव्यक्ति आपत्तिजनक...

एलपी ग्यास व्यवसायीमाथि मन्त्रीको अभिव्यक्ति आपत्तिजनक : ग्यास उद्योग संघ

एलपी ग्यास व्यवसायीमाथि मन्त्रीको अभिव्यक्ति आपत्तिजनक : ग्यास उद्योग संघ

बिहिवार, भाद्र २५ २०८३१२:५३
बिहिवार, भाद्र २५ २०८३१२:५३
  • images

    काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

    संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिसहितका कठिन परिस्थितिमा समेत ग्यास उद्योगहरूले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आफ्नो सम्पूर्ण स्रोत–साधन परिचालन गर्दै आएको दाबी गरेको छ।

    संघका अनुसार नेपालमा एलपी ग्यासको कारोबार गर्ने उद्योगहरूले पाँच दशकभन्दा बढी समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएका छन्। देशमा विभिन्न समयमा आएका विपत्ति तथा महामारीका बेला समेत उद्योगहरूले अहोरात्र खटिएर उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ।

    संघले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संसदीय प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा एलपी ग्यास उद्योगीप्रति गरिएको गैरजिम्मेवार अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।

    संघले प्राकृतिक विपत्तिका बेला एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन आफूहरूले सक्दो इमानदारीपूर्वक काम गरिरहेको अवस्थामा मन्त्रीजस्तो अभिभावकीय तथा नेतृत्वदायी भूमिकामा रहेको व्यक्तिबाट ‘गैरलोकतान्त्रिक, गैरजिम्मेवार, अमर्यादित तथा अशोभनीय’ अभिव्यक्ति आउनु दुःखद भएको जनाएको छ।

    वर्तमान विषम परिस्थितिमा अर्को पक्षलाई दोष देखाएर आफू पानीमाथिको ओभानो बन्न खोज्ने प्रवृत्तिले समस्याको समाधान नहुने संघको भनाइ छ। समस्याको वस्तुनिष्ठ समीक्षा गरी समाधानतर्फ अघि बढ्नुपर्नेमा संघले जोड दिएको छ।

    ‘चार महिनासम्म निरन्तर ग्यास उपलब्ध गरायौँ’

    संघले गत मंसिर १९ गतेदेखि नेपाल आयल निगम लिमिटेडले माग गरेअनुसार सिलिन्डर भर्न अनुरोध गरेको र त्यसपछि पनि निरन्तर रूपमा बजारमा ग्यास आपूर्ति गर्दै आएको जनाएको छ।

    संघका अनुसार निगमले माग गरेअनुसार सिलिन्डर भरेर पठाए पनि पछिल्लो समय ग्यासको आयात तथा आपूर्तिमा देखिएको समस्या, पूर्ण सिलिन्डर ल्याएपछि अचानक माग बढ्नु तथा पृथ्वी राजमार्गको अवरोधका कारण ग्यास बुलेट ढुवानी प्रभावित हुनुलगायतका विषयलाई समेत समग्र रूपमा विश्लेषण गर्न आवश्यक छ।

    संघले यस्तो विषम परिस्थितिमा कुनै उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा सम्बन्धित पक्षमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने स्पष्ट पारेको छ। तर प्रमाणबिना ग्यास उद्योगीलाई दोषी देखाउने गरी भौतिक कारबाहीको संकेत दिने अभिव्यक्ति आपत्तिजनक रहेको संघको भनाइ छ।

    संघले एलपी ग्यास अत्यावश्यक वस्तु भएकाले उपभोक्ताले सरल र सहज रूपमा ग्यास प्राप्त गर्न सकून् भन्ने उद्देश्यले आफूहरू सम्बन्धित निकायसँग सहकार्य गर्दै आएको जनाएको छ।

    साथै, कठिन परिस्थितिमा समेत एलपी ग्यास सहज बनाउन सम्बन्धित निकाय, एलपी ग्यास उपभोक्ता तथा सरोकारवाला निकायबाट प्राप्त सहयोगप्रति संघले आभार व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend