२०८३, आश्विन १९ गते

images

राहत सहयोगको आधिकारिक विवरण अब अनलाइनमै, अर्थ मन्त्रालयले ल्यायो ‘बाढी अपडेट’ पोर्टल सञ्चालनमा

राहत सहयोगको आधिकारिक विवरण अब अनलाइनमै, अर्थ मन्त्रालयले ल्यायो ‘बाढी अपडेट’ पोर्टल सञ्चालनमा

शुक्रवार, भाद्र २६ २०८३०२:३२
शुक्रवार, भाद्र २६ २०८३०२:३२
  • images

    काठमाडौँ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्राप्त स्वदेशी तथा विदेशी सहयोग, उद्धार तथा राहतसम्बन्धी विवरण र नेपाल सरकारका निर्णयलाई पारदर्शी रूपमा सार्वजनिक गर्न अर्थ मन्त्रालयले ‘रसुवा–भोटेकोशी बाढी अपडेट’ पोर्टल सञ्चालनमा ल्याएको छ।

    अर्थ मन्त्रालयका अनुसार २०८३ भदौ १० गते आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोग तथा बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतसम्बन्धी आधिकारिक विवरणलाई एकै ठाउँबाट सार्वजनिक गर्ने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको हो। पोर्टल नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ।

    पोर्टलमा २०८३ भदौ २४ गतेसम्म अर्थमन्त्रीलाई चेक तथा बैंक ट्रान्सफरमार्फत हस्तान्तरण गरिएका ३८९ वटा सहयोगबाट २ अर्ब १५ करोड २५ लाख ४२ हजार ३०९ रुपैयाँ प्राप्त भएको विवरण राखिएको छ।

    त्यसैगरी, एनसीएचएल र फोनपे मार्फत प्राप्त अनलाइन सहयोग तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको अमेरिकी डलर खातामा प्राप्त वैदेशिक सहयोगसमेत जोड्दा हालसम्म १२ अर्ब ३१ करोड ५९ लाख ४२ हजार ३५ रुपैयाँ सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार २०८३ भदौ २४ गते बिहान ९ बजेसम्मको कोषको स्थितिअनुसार ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ। विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको मिति तथा समय फरक रहेकाले एकीकृत रकमको अन्तिम हिसाब मिलान भने अर्थ मन्त्रालयको कोष शाखाबाट हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

    सहयोगदातादेखि राहत विवरणसम्म

    नयाँ पोर्टलमा अर्थमन्त्रीलाई चेक तथा बैंक ट्रान्सफरमार्फत प्राप्त सहयोगको दातासहितको विवरण, एनसीएचएल र फोनपेमार्फत प्राप्त रकम, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका बैंकगत खाताको अवस्था तथा अमेरिकी डलर खातामा प्राप्त वैदेशिक सहयोगको विवरण राखिएको छ।

    त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीबाट प्रकाशित उद्धार तथा राहतसम्बन्धी विवरण, मन्त्रिपरिषद्का निर्णय, राहत व्यवस्थासम्बन्धी जानकारी र राहत संकलनका लागि सञ्चालन गरिएको एकद्वार प्रणालीका सम्पर्क व्यक्तिको विवरण पनि पोर्टलमा उपलब्ध गराइएको छ।

    अर्थ मन्त्रालयले पोर्टलमा प्रकाशित तथ्यांक सम्बन्धित निकायका आधिकारिक कागजातसँग रुजु गरेपछि मात्र सार्वजनिक गरिने जनाएको छ। नयाँ आधिकारिक विवरण प्राप्त भएपछि पोर्टल नियमित रूपमा अद्यावधिक गरिने मन्त्रालयको भनाइ छ।

    आधिकारिक माध्यमबाट मात्रै सहयोग गर्न आग्रह

    अर्थ मन्त्रालयले बाढी प्रभावितका लागि सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई आधिकारिक भुक्तानी पोर्टलमार्फत मात्र रकम पठाउन आग्रह गरेको छ।

    नगद वा जिन्सी सहयोग गर्न चाहनेले अर्थ मन्त्रालयको राहत संकलन एकद्वार प्रणालीका सम्पर्क व्यक्तिसँग समन्वय गर्न सक्नेछन्। सम्पर्क व्यक्तिको विवरण ‘रसुवा–भोटेकोशी बाढी अपडेट’ पोर्टलको ‘सम्पर्क’ खण्डमा राखिएको छ।

    त्यसैगरी, उद्धारसम्बन्धी अनुरोधका लागि सरकारले छुट्टै अनलाइन प्रणालीको व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले अनधिकृत माध्यमबाट सहयोग संकलन नगर्न तथा सहयोग गर्नुअघि सम्बन्धित विवरण आधिकारिक माध्यमबाट पुष्टि गर्नसमेत आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend