काठमाडौँ । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याइएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको आशंकामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतबाट भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ बोकेर आएका ती ट्याङ्कर सराफ आयल सेन्टरमा पुगेका थिए । प्रहरीले करिब १० बजे आयल सेन्टरमा छापा मार्दा लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करबाट पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुवै ट्याङ्करको सिल तोडिएको र त्यसबाट पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको थियो ।
घटनापछि प्रहरीले दुवै ट्याङ्कर र एक जना सहचालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । पेट्रोलियम पदार्थ कति परिमाणमा निकालिएको थियो र त्यसमा को–को संलग्न थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो घटनासँगै भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको निगरानी तथा डिपोमा हुने नापजाँच प्रणालीमाथि समेत प्रश्न उठेको छ ।
केही निकटस्थ स्रोतले ट्याङ्कर व्यवसायी र पेट्रोल पम्प सञ्चालकबीचको मिलेमतोमा भलवारी डिपोका लागि ढुवानी गरिने पेट्रोलियम पदार्थ बाटोमै निकाल्ने गरिएको दाबी गरेका छन् । यद्यपि, उक्त दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
स्रोतका अनुसार भलवारी डिपोले पेट्रोलियम पदार्थ बोकेर आउने ट्याङ्करको सिलको अवस्था नियमित रूपमा परीक्षण नगरेको तथा आयात भएर आएको पेट्रोलियम पदार्थको पर्याप्त नापजाँच नगरेको आरोपसमेत लाग्दै आएको छ ।
भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करबाट यसअघि पनि तेल चोरी हुने गरेको दाबी गरिएको छ । पछिल्लो घटनाले भने पेट्रोलियम पदार्थ ढुवानीदेखि ट्याङ्करको सिल परीक्षण र डिपोमा हुने नापजाँचसम्मको सम्पूर्ण प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।

