२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बाढी–पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध, मुख्य...

बाढी–पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध, मुख्य सडकखण्डमा यातायात प्रभावित

बाढी–पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध, मुख्य सडकखण्डमा यातायात प्रभावित

बुधवार, भाद्र ३१ २०८३०९:०२
बुधवार, भाद्र ३१ २०८३०९:०२
  • images

    काठमाडौँ । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले आज भदौ ३१ गते बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेको जनाएको छ।

    बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सवारी सञ्चालनका लागि विशेष व्यवस्था गरिएको छ। भदौ १६ गतेदेखि लागू भएको व्यवस्थाअनुसार अर्को सूचना नभएसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइनेछ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।

    रसुवाका मुख्य राजमार्गहरू भदौ १० गते बिहान १०ः३० बजेदेखि आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्।

    त्यस्तै, नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी तथा पहिरोको सम्भावनालाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। भदौ १ गतेदेखि अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी चलाउन नपाइने व्यवस्था गरिएको छ।

    नुवाकोटकै पसाङ ल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।

    धादिङको पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा ठप्प रहेको प्रहरीले जनाएको छ। सोही राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र शीतलबजारमा भने पहिरो पन्छाएर एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ। ज्वाङखोलामा भदौ १६ गतेदेखि र शीतलबजारमा भदौ २६ गतेदेखि एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

    चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा सडक मर्मतको काम जारी रहेकाले सवारीको चाप र अवस्थाअनुसार एकतर्फी रूपमा यातायात सञ्चालन गराइएको छ।

    यता कर्णाली प्रदेशको हुम्लामा कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–६ खरीखेतमा भदौ २९ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

    बाढी, पहिरो तथा सडक मर्मतका कारण विभिन्न स्थानमा यातायात प्रभावित भएकाले यात्रुले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend