काठमाडौं । गरिमा विकास बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकका अनुसार बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बैंक र कर्मचारीको तर्फबाट उक्त सहयोग घोषणा गरिएको हो ।
बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५ सय ५० रुपैयाँ र बैंकको तर्फबाट ३४ लाख ९० हजार ५ सय ६१ रुपैयाँ गरी कुल ५१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।
त्यसैगरी, बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापना सम्बन्धी कार्यक्रमका लागि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यससँगै बैंकको कुल सहयोग १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुगेको छ ।
गरिमा विकास बैंकले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ ।
बैंकले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक, स्थानीय समुदाय, सरकारी तथा सुरक्षा निकाय, गैरसरकारी संस्था र अन्य सरोकारवालाबीचको सहकार्यबाट राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासलाई थप प्रभावकारी बनाउन सकिने विश्वाससमेत व्यक्त गरेको छ।

