२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • भोटेकोशी बाढी व्यवस्थापनका लागि ७ दिनभित्र...

भोटेकोशी बाढी व्यवस्थापनका लागि ७ दिनभित्र सर्वदलीय संयन्त्र बनाउने निर्णय

भोटेकोशी बाढी व्यवस्थापनका लागि ७ दिनभित्र सर्वदलीय संयन्त्र बनाउने निर्णय

बुधवार, भाद्र ३१ २०८३०२:०६
बुधवार, भाद्र ३१ २०८३०२:०६
  • images

    काठमाडौं । भोटेकोशी बाढीपछि उत्पन्न विपद्को जोखिम न्यूनीकरण, राहत, पुनःस्थापना तथा दीर्घकालीन व्यवस्थापनका लागि ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय भएको छ ।

    बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न सभामुखसमक्ष आग्रह गर्ने निर्णयसमेत गरेको हो ।

    बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले भोटेकोशी बाढीपछि सिर्जित परिस्थितिमा काम गर्न सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

    उनका अनुसार बैठकमा संसदीय समिति गठन गरी विपद्पछिको अवस्थाबारे काम गर्ने तथा ‘सनसेट ल’ लागू गर्ने विषयमा समेत छलफल भएको थियो ।

    शाहीले भने, ‘अबको ७ दिनभित्र सर्वदलीय संयन्त्र बन्ने कुरा भएको छ । संसदीय समितिले छानबिन गर्ने कुरा पनि भएको छ।’

    यसअघि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढी आएपछि त्यसको भोलिपल्टै रास्वपा सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरेका थिए ।

    त्यसक्रममा बसेको सर्वदलीय बैठकमा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी भएका थिए ।

    बैठकमा लामिछानेले उद्धार, राहतदेखि पुनःस्थापनासम्म सरकारलाई सहयोग गर्ने गरी सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहभागी दलहरूले सहमति जनाएका थिए ।

    त्यसपछि जारी गरिएको १० बुँदे संकल्पमा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा सुधार तथा सरकारका कामकारबाहीको निरन्तर सल्लाह, सहयोग र अनुगमनका लागि संसदीय समिति गठन गर्ने विषय समेटिएको थियो ।

    प्रस्तावित संयन्त्रले विपद्को समयमा उद्धार तथा राहतमा मात्रै सीमित नभई विपद्पूर्व तयारी, दिगो विकास र नीतिगत सुधारका विषयमा समेत राष्ट्रिय सहमति निर्माण गर्न भूमिका खेल्ने बताइएको छ ।

    यसअघि भदौ १६ गते बसेको सर्वदलीय बैठकले पनि सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा सहमति जनाएको थियो । तर, त्यसबेला संयन्त्र गठन हुन सकेको थिएन । बुधबारको बैठकले भने सात दिनको समयसीमा नै तोकेर संयन्त्र गठन गर्ने निर्णय गरेको हो

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend