काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक हुने भएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका लागि ३३ जना विजेता घोषणा गरिनेछ । जसमध्ये ३१ जना विजेताले जनही एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् भने दुई जना बम्पर विजेता घोषणा गरिनेछ ।
भोटेकोसी नदीमा आएको बाढीका कारण गत भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो । स्थगित कार्यक्रम आज आन्तरिक राजस्व विभाग, लाजिम्पाटको सभाहलबाट आयोजना गरी भदौ महिनाको सम्पूर्ण नतिजा सार्वजनिक गर्न लागिएको हो ।
विभागले नतिजा सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ ।

