२०८३, आश्विन १९ गते

images
  • समाचार
  • माथिल्लो त्रिशूली–१ को टनेलबाट थप ६...

माथिल्लो त्रिशूली–१ को टनेलबाट थप ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ को टनेलबाट थप ६ शव निकालियो

शुक्रवार, आश्विन २ २०८३१२:४०
शुक्रवार, आश्विन २ २०८३१२:४०
  • images

    काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ वटा शव फेला परेका छन्।

    भदौ १० गते आएको बाढीपछि आयोजनामा कार्यरत सम्पर्कविहीन व्यक्तिहरूको खोजी गर्ने क्रममा ती शव फेला परेको नेपाली सेनाले जनाएको छ।

    सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ टनेलभित्र खोजी गर्ने क्रममा ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको थियो।

    ग्रिन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी टोलीले ती शव टनेलबाट बाहिर निकालेको हो। टनेलभित्र हिलोले पुरिएको अवस्थामा थप शवजस्तो आकृति देखिएकाले सो क्षेत्रमा खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।

    भोटेकोसी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सबैभन्दा ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन्। बिहीबारसम्मको विवरणअनुसार आयोजनामा कार्यरत ४९२ जना अझै सम्पर्कविहीन छन् भने ९३६ जना सम्पर्कमा आएका छन्।

    बाढी आउँदा आयोजनामा कुल १ हजार ४३३ जना जनशक्ति कार्यरत रहेको बताइएको छ।

    कोरियाली लगानीमा निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ आयोजना बाढीबाट प्रभावित भएको थियो। सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend