काठमाडौँ । बुद्ध एयरले नयाँ एटीआर जहाज थप गरेको छ । कम्पनीले शुक्रबार १८ औं जहाजको रुपमा ७२ सिट क्षमताको एटीआर जहाज भित्र्याएको हो ।
नयाँ जहाज आएसँगै ७२ सिट क्षमताको एटीआर जहाजको संख्या १५ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई साउन महिनाबाट उडान सेवामा ल्याईने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
कम्पनीले उक्त जहाज फ्रान्सको तुलुसाबाट भित्र्याएको हो । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुद्ध एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको जनाएको छ ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने बताए ।
थपिएको जहाजबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना कम्पनीको रहेको छ । हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ । थपिएको जहाजबाट अन्य गन्तव्यहरुमा पनि उडान संख्या थप्ने योजना रहेको छ ।
थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुनेछन् । बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढि उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ । यसैगरि पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।

