२०८३, आश्विन १९ गते

images
  • समाचार
  • स्वास्थ्य प्रशासक डा. अर्जुन सापकोटाविरुद्ध २...

स्वास्थ्य प्रशासक डा. अर्जुन सापकोटाविरुद्ध २ करोड ३ लाखको भ्रष्टाचार मुद्दा दायर

स्वास्थ्य प्रशासक डा. अर्जुन सापकोटाविरुद्ध २ करोड ३ लाखको भ्रष्टाचार मुद्दा दायर

शुक्रवार, आश्विन २ २०८३०४:५०
शुक्रवार, आश्विन २ २०८३०४:५०
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तथा तत्कालीन दशौं तहका डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध दुई करोडभन्दा बढी रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

    आयोगका अनुसार सापकोटाले स्वास्थ्य मन्त्रालयअन्तर्गतका आकर्षक कार्यालयमा निरन्तर कार्यरत रहँदा काठमाडौंलगायत प्रमुख शहरमा महँगा जग्गा खरिद गरी घर निर्माण गर्ने, महँगा सवारीसाधन खरिद गर्ने लगायतका अस्वाभाविक जीवनशैली अपनाएको भन्दै परेको उजुरीमाथि अनुसन्धान गरिएको थियो।

    अनुसन्धानका क्रममा सापकोटाको नियुक्ति मिति २०५३-०४-२५ देखि २०८०-०१-३० सम्मलाई जाँच अवधि कायम गरिएको आयोगले जनाएको छ। उक्त अवधिमा सापकोटा तथा उनको एकाघर परिवारले कानुनी रूपमा आर्जन गरेको आय र गरेको खर्च तथा लगानीको विश्लेषण गर्दा कुल वैधानिक आय ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ ३४ पैसा देखिएको आयोगको दाबी छ।

    त्यसैगरी, सोही अवधिमा जग्गा खरिद, घर निर्माण तथा घरजग्गा खरिद, शेयर खरिद, सवारीसाधन खरिद, कर्जा भुक्तानी, बीमा प्रिमियम, अध्ययन, सुन तथा विद्युतीय उपकरण खरिद, विदेश भ्रमण, नगद तथा बैंक मौज्दातलगायतमा गरी कुल ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ ५८ पैसा खर्च तथा लगानी भएको आयोगले जनाएको छ।

    आम्दानीको तुलनामा खर्च तथा लगानी २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बढी देखिएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ। आयोगले सापकोटाले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आरोप लगाएको छ।

    आयोगले सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ २४ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनबमोजिम कैद र बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ।

    त्यसैगरी, वास्तविक सम्पत्तिको विवरण नदिई सम्पत्ति लुकाईछिपाई झुट्टा विवरण पेस गरेको आरोपमा समेत सापकोटाविरुद्ध थप कानुनी कारबाहीको मागदाबी गरिएको आयोगले जनाएको छ।

    आयोगले सापकोटाकी श्रीमती निरजा पण्डितलाई समेत प्रतिवादी कायम गरेको छ। आयोगका अनुसार सापकोटाले सार्वजनिक सेवामा रहँदा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट श्रीमतीको नाममा खरिद गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend