काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र स्थापित अभ्यासलाई ध्यान दिनुपर्ने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग अनुमति लिनुपर्ने बताएका हुन्।
उनले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यासमा पत्रकारले प्रश्न गर्नुअघि सम्बन्धित व्यक्तिसँग प्रश्न गर्न मिल्छ कि मिल्दैन भनेर सोध्ने गरेको दाबी गरे। त्यस्तै, अन्तर्वार्ता वा कुनै व्यक्तिको भनाइ प्रकाशन गर्नुअघि समेत त्यसबारे सम्बन्धित व्यक्तिलाई जानकारी गराउने अभ्यास रहेको उनको भनाइ थियो।
ओलीले सञ्चारकर्मीहरूले अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न गर्ने शैलीप्रति असन्तुष्टि जनाए। उनले पत्रकारहरूलाई प्रश्न गर्दा मर्यादा कायम राख्न आग्रह गरे।
‘दुनियाँभरि पत्रकारिताको नियम भनेको तपाईंसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि सोधिन्छ। प्रश्न सोधेपछि प्रकाशित गर्नुअघि तपाईंले भन्नुभएको कुरा हामी प्रकाशित गर्दैछौँ भनेर सोधिन्छ,’ ओलीले भने।
उनले सञ्चारकर्मीलाई अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न नगर्नसमेत आग्रह गरे।

