काठमाडौँ । अध्यागमन विभागले श्रम अनुमति नलिई नेपालमा काम गरिरहेका ८८ जना चिनियाँ नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ।
सिन्धुलीको मरिण गाउँपालिका–४ स्थित जयमान फुड्स प्रालिमा काम गरिरहेका उनीहरूको भिसा रद्द गरिएको विभागले जनाएको हो। छेन्दु तियान फुड्स लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन उक्त उद्योग भैंसीको मासु प्रशोधन गरी चीन निर्यात गर्ने उद्देश्यले स्थापना गरिएको हो।
विभागका प्रवक्ता टीकाराम ढकालले जारी गरेको विज्ञप्तिअनुसार ८८ जना चिनियाँ नागरिकले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएर भिसाको उद्देश्यविपरीत काम गरेको पाइएको थियो। सोही आधारमा उनीहरूको व्यावसायिक भिसा रद्द गरिएको विभागले जनाएको छ।
विभागले अध्यागमन ऐन, २०४९ बमोजिम उनीहरूलाई जरिवाना गरी नेपालबाट निष्कासनको प्रक्रिया अघि बढाएको जनाएको छ।
यसअघि सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र अध्यागमन अधिकृतसहितको संयुक्त टोलीले उद्योगको अनुगमन गरेको थियो।
श्रम विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार नेपालमा विदेशी नागरिकले काम गर्न सम्बन्धित मन्त्रालयको सिफारिस र गृह मन्त्रालयको स्वीकृतिपछि मात्रै श्रम अनुमति पाउने व्यवस्था छ। उनका अनुसार जयमान फुड्सले भने विदेशी कामदारका लागि आवश्यक श्रम अनुमति लिएको छैन।

