काठमाडौँ । निरन्तरको हावाहुरीसहितको वर्षा, बाढीपहिरो तथा हिमपातका कारण नेपाल टेलिकमका केही स्थानमा दूरसञ्चार सेवा अवरुद्ध भएको छ ।
नेपाल टेलिकमले आइतबार सूचना जारी गर्दै असोज ८ गतेदेखि जारी प्रतिकूल मौसमका कारण कम्पनीका कतिपय स्थानमा सेवा प्रभावित भएको जनाएको हो ।
कम्पनीका अनुसार भारी वर्षा र पहिरोका कारण प्राविधिक टोलीलाई सम्बन्धित स्थानमा पुग्न कठिनाइ हुनुका साथै अप्टिकल फाइबरमा क्षति पुगेको छ । विद्युत् आपूर्तिमा भएको अवरोध तथा हिमपात, वर्षा र बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा पनि सेवा सञ्चालनमा कठिनाइ भएको टेलिकमले जनाएको छ ।
टेलिकमले सिस्टमबाट प्राविधिक रूपमा गर्न सकिने मर्मतसम्भारका काम भइरहेको तथा सम्भव भएका स्थानमा सेवाको मर्मत कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । मौसममा सुधार आएसँगै सम्बन्धित कार्यस्थलमा पुगेर सेवा मर्मत गर्न प्राविधिक टोली तयारी अवस्थामा राखिएको पनि कम्पनीले जनाएको छ ।
सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै नेपाल टेलिकमले बाढी, पहिरो र निरन्तर वर्षाका कारण सिर्जित कठिन परिस्थितिमा ग्राहकले देखाएको धैर्यप्रति आभार व्यक्त गरेको छ।

