काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसमा पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश समावेश छन्।
बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ३३१औँ बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। प्रस्तावअनुसार बैंकले एक करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता बोनस सेयर वितरण गर्नेछ। बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि छ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश छुट्याउने प्रस्ताव गरिएको छ।
पाँच प्रतिशत बोनसको अर्थ प्रत्येक १०० कित्ता सेयरबापत पाँच कित्ता थप सेयर प्राप्त गर्नु हो। सञ्चालक समितिको निर्णय प्रस्तावको चरणमा रहेकाले लाभांश तत्काल वितरण हुने होइन। नियामकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्रै वितरण प्रक्रिया अघि बढ्नेछ।

