२०८३, मंसिर ७ गते

नबिल बैंकको नाफा ४५.४ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो २ अर्ब ५५ करोड

नबिल बैंकको नाफा ४५.४ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो २ अर्ब ५५ करोड

images
आइतवार, कार्तिक १५ २०८३०७:२४
आइतवार, कार्तिक १५ २०८३०७:२४
  • images

    काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४ प्रतिशतले बढी हो। गत वर्ष बैंकले यस अवधिमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो।

    बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार ब्याज खर्चमा कमी, खुद ब्याज आम्दानीमा वृद्धि तथा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घट्दा नाफामा उल्लेख्य सुधार आएको हो।

    अध्यक्ष निर्वाण चौधरी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीको नेतृत्वमा बैंकको नाफा, आम्दानी तथा प्रतिफलसम्बन्धी सूचकमा सुधार देखिएको छ। लागत नियन्त्रण र व्यवसाय विस्तारलाई बैंकले नाफा वृद्धिको प्रमुख आधार बनाएको छ।

    खुद ब्याज आम्दानी २१.४ प्रतिशतले बढ्यो

    बैंकको ब्याज आम्दानी १.९ प्रतिशतले घटेर ९ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ। तर ब्याज खर्च १७.४ प्रतिशतले घटेर ४ अर्ब ८७ करोड रुपैयाँमा झरेको छ।

    यससँगै बैंकको खुद ब्याज आम्दानी २१.४ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी पनि १६.४ प्रतिशतले बढेर ६ अर्ब १३ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

    त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी १५.१ प्रतिशत र खुद ट्रेडिङ आम्दानी ५५.३ प्रतिशतले बढेको छ। यद्यपि, अन्य सञ्चालन आम्दानी भने ६२.६ प्रतिशतले घटेको छ।

    कर्जा नोक्सानी व्यवस्था ७४.७ प्रतिशत घट्यो

    बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम घट्नुले पनि महत्वपूर्ण भूमिका खेलेको छ।

    गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ७२ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १६ करोड ४० लाख रुपैयाँ मात्रै छुट्याएको छ। यो अघिल्लो वर्षको तुलनामा ७४.७ प्रतिशत कम हो।

    बैंकको कुल खराब कर्जा अनुपात ४.३१ प्रतिशतबाट घटेर ४.०६ प्रतिशतमा झरेको छ। खुद खराब कर्जा अनुपात पनि ०.९७ प्रतिशतबाट घटेर ०.६३ प्रतिशत कायम भएको छ।

    त्यस्तै, खराब कर्जाविरुद्धको नोक्सानी व्यवस्था कभरेज १०८.७१ प्रतिशतबाट बढेर १२०.५६ प्रतिशत पुगेको छ।

    निक्षेप ६ खर्ब नाघ्यो, कर्जा ४ खर्ब ७६ अर्ब

    असोज मसान्तसम्म नबिल बैंकको कुल निक्षेप ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तको तुलनामा निक्षेप ४.६ प्रतिशतले बढेको हो।

    यसैगरी, बैंकको ग्राहक कर्जा ३.४ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ पुगेको छ। बैंकको कर्जा–निक्षेप अनुपात ८०.०१ प्रतिशत रहेको छ।

    समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति ५.६ प्रतिशतले बढेर ७ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। तर, बैंकको लगानी भने ८.१ प्रतिशतले घटेर १ खर्ब १७ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ।

    ईपीएस र प्रतिफलमा सुधार, पुँजीकोष अनुपात घट्यो

    नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा २५ रुपैयाँ ४९ पैसा रहेको वार्षिक ईपीएस चालु आर्थिक वर्षमा ३३ रुपैयाँ ८९ पैसा पुगेको छ।

    त्यस्तै, इक्विटीमा प्रतिफल (आरओई) १०.७० प्रतिशतबाट बढेर १३.९९ प्रतिशत पुगेको छ भने सम्पत्तिमा प्रतिफल (आरओए) १.०५ प्रतिशतबाट बढेर १.३३ प्रतिशत कायम भएको छ।

    तर, बैंकको पुँजीकोष अनुपातमा भने गिरावट आएको छ। गत वर्ष १२.६७ प्रतिशत रहेको पुँजीकोष अनुपात घटेर ११.६७ प्रतिशतमा झरेको छ। मुख्य पुँजी (सीईटी–१) अनुपात पनि ९.५५ प्रतिशतबाट घटेर ८.३२ प्रतिशतमा आएको छ।

    त्रैमासिक अवधिमा ५ प्रतिशत बोनस सेयर पुँजीकरण भएपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। यसमा ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत अग्राधिकार सेयरसमेत समावेश छ।

    वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड

    नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्थाअनुसार विभिन्न कोषमा रकम छुट्याएपछि बैंकसँग चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३७ करोड ७ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ।

    अघिल्लो वर्षको सञ्चित नाफा जोडेर बोनस सेयर तथा नगद लाभांश वितरण घटाउँदा बैंकको कुल वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर वितरणयोग्य नाफा २२ रुपैयाँ ८ पैसा रहेको छ।

    समीक्षा अवधिमा बैंकको सेयर मूल्य अधिकतम ५८१ रुपैयाँ र न्यूनतम ५२५ रुपैयाँसम्म पुगेको थियो। त्रैमासको अन्तिम कारोबार मूल्य ५४७ रुपैयाँका आधारमा बैंकको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १६.१४ गुणा रहेको छ।

    यसरी पहिलो त्रैमासमा नाफा, खुद ब्याज आम्दानी र प्रतिफलका सूचकमा सुधार गरेको नबिल बैंकको पुँजीकोष अनुपातमा भने दबाब देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend