काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८६ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस वर्षको असोज मसान्तसम्म आइपुग्दा उक्त नाफा बढेर ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ पुगेको हो ।
बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको वृद्धि तथा प्रोभिजनिङमा आएको कमीले मुख्य भूमिका खेलेको देखिन्छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४५ करोड ८९ लाख ४८ हजार रुपैयाँबाट बढेर १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा पनि ५९ करोड ८४ लाख ३१ हजार रुपैयाँबाट वृद्धि भएर ८६ करोड २ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी, बैंकको प्रोभिजनिङ रकममा उल्लेख्य कमी आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ करोड ८ लाख ७४ हजार रुपैयाँ प्रोभिजनिङ गरेको बैंकले चालु आवको सोही अवधिमा २१ करोड १२ लाख ७९ हजार रुपैयाँ मात्रै छुट्याएको छ ।
असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ११ करोड २१ लाख १४ हजार रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपातसमेत घटेको छ । गत आवको सोही अवधिमा ४.१३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर ३.९७ प्रतिशतमा झरेको हो ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ७१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ४० पैसा कायम भएको छ ।
१५ अर्ब ४४ करोड ८७ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड १० लाख ७७ हजार रुपैयाँ सञ्चित छ ।
बैंकले असोज मसान्तसम्म २ खर्ब २८ अर्ब ३७ करोड २० लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी १ खर्ब ७२ अर्ब ६४ करोड ९९ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

