२०८३, मंसिर ७ गते

ग्लोबल आइएमई बैंकको नाफा २४.४८ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो २ अर्ब ३१ करोड

ग्लोबल आइएमई बैंकको नाफा २४.४८ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो २ अर्ब ३१ करोड

images
आइतवार, कार्तिक १५ २०८३०८:४७
आइतवार, कार्तिक १५ २०८३०८:४७
  • images

    काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा २४.४८ प्रतिशतले बढेको हो ।

    गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवको असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद नाफा बढेर २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा बढेर ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

    त्यस्तै, बैंकले समीक्षा अवधिमा १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ८ लाख ६४ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब २२ करोड २५ लाख २९ हजार रुपैयाँ रहेको छ ।

    असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ७ करोड २ लाख २० हजार रुपैयाँ पुगेको छ । यसका आधारमा बैंकको लाभांश क्षमता १७.७५ प्रतिशत रहेको छ ।

    बैंकको निक्षेप तथा कर्जा कारोबारमा समेत वृद्धि देखिएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३.११ प्रतिशतले बढेर ६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तमा बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड १४ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

    त्यसैगरी, बैंकको कर्जा प्रवाह ७.४८ प्रतिशतले बढेर ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी ४ खर्ब ३९ अर्ब ८ करोड ८५ लाख रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७०.११ प्रतिशत कायम भएको छ ।

    बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १९ रुपैयाँ ५१ पैसा रहेको ईपीएस चालु आवको सोही अवधिमा बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात १०.८८ गुणा रहेको छ ।

    यसैगरी, बैंकले निष्क्रिय कर्जा अनुपातमा पनि सुधार गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तमा ४.९८ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा घटेर ४.७९ प्रतिशतमा झरेको छ ।

    यससँगै पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा, प्रतिसेयर आम्दानी र कर्जा प्रवाहमा वृद्धि देखिएको छ भने निष्क्रिय कर्जा अनुपातमा समेत सुधार आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend