काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले असोज मसान्तसम्म १९ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफामा सामान्य गिरावट आए पनि बैंकको खुद ब्याज आम्दानीमा भने सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६ करोड २५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ६४ करोड ५२ लाख रुपैयाँ थियो।
त्यस्तै, बैंकले पहिलो त्रैमासमा २८ करोड २३ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ।
व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप तथा कर्जा लगानी दुवैमा वृद्धि भएको छ। असोज मसान्तसम्म बैंकले ७९ अर्ब ११ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको कुल निक्षेप ७७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ थियो।
यसैगरी, बैंकको कुल कर्जा लगानी ६५ अर्ब ३१ करोड १२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा ६३ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति ८८ अर्ब ४८ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३५ पैसा कायम भएको छ। बैंकको निष्क्रिय कर्जा अनुपात भने बढेर ४.७१ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो अनुपात ४.६१ प्रतिशत थियो।
५ अर्ब ३२ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा ५ करोड ५४ लाख रुपैयाँ कायम भएको छ। गत वर्षको तुलनात्मक विवरणमा यस्तो मुनाफा ६९ करोड ६४ लाख रुपैयाँ थियो।

