काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा १६२.७५ प्रतिशतले बढाएको छ। बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कर्जा नोक्सानी व्यवस्थाबापतको रकम (इम्पेयरमेन्ट चार्ज) घट्नु र खुद ब्याज आम्दानी बढ्नुले बैंकको नाफामा उल्लेख्य सुधार आएको हो।
खुद ब्याज आम्दानी २ अर्ब ३८ करोड
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.५० प्रतिशतले बढेर २ अर्ब ३८ करोड ९६ लाख ९३ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब १६ करोड रुपैयाँ हाराहारी थियो।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ कुल ब्याज आम्दानी गरेको छ भने ब्याज खर्च २ अर्ब ९७ करोड ५२ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी १०.९४ प्रतिशतले वृद्धि भएर ५७ करोड ७ लाख ९ हजार रुपैयाँ पुगेको छ। यससँगै कुल सञ्चालन आम्दानी ३ अर्ब २५ करोड ५ लाख २७ हजार रुपैयाँ कायम भएको छ।
बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याइएको रकममा आएको गिरावटले पनि महत्वपूर्ण भूमिका खेलेको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ३८ करोड ८७ लाख ६६ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु आवमा ५१.४७ प्रतिशतले घटेर ६७ करोड ३९ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ।
यस अवधिमा बैंकको करअघिको नाफा १ अर्ब २३ करोड ८८ लाख २१ हजार रुपैयाँ पुगेको छ। बैंकले ३८ करोड ७२ लाख ५५ हजार रुपैयाँ चालु कर व्यवस्था गरेको छ।
निक्षेप र कर्जा दुवैमा वृद्धि
बैंकको निक्षेप तथा कर्जा लगानीमा पनि वृद्धि देखिएको छ। असोज मसान्तसम्म बैंकको ग्राहक निक्षेप २.५७ प्रतिशतले बढेर ३ खर्ब ३४ अर्ब ८० करोड १२ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो निक्षेप ३ खर्ब २६ अर्ब ४० करोड रुपैयाँ थियो।
त्यस्तै, बैंकको कुल कर्जा लगानी ४.२५ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब ४ करोड ७ लाख रुपैयाँ पुगेको छ।
बैंकको कुल चुक्ता पुँजी १९ अर्ब ७७ करोड ३९ लाख २७ हजार रुपैयाँ रहेको छ। जगेडा कोषमा १५ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ सञ्चित हुँदा कुल इक्विटी ३५ अर्ब ९८ करोड ३८ लाख रुपैयाँ पुगेको छ।
वितरणयोग्य मुनाफा ३९ करोडभन्दा बढी
सिद्धार्थ बैंकको वित्तीय विवरणमा वितरणयोग्य मुनाफा र बोनस सेयरसम्बन्धी व्यवस्था पनि महत्वपूर्ण देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद वितरणयोग्य नाफा २७ करोड ७९ लाख ८४ हजार रुपैयाँ रहेको छ। विभिन्न कोष तथा अन्य शीर्षकमा रकम समायोजन गरेपछि कायम भएको यो रकमसँगै अघिल्लो वर्षको सञ्चित नाफाबाट बाँकी रहेको रकम जोड्दा असोज मसान्तसम्म कुल सञ्चित वितरणयोग्य मुनाफा ३९ करोड ६ लाख ३९ हजार रुपैयाँ पुगेको छ।
बैंकको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र भदौ २५ गते परिपक्व भएपछि त्यसबापतको क्यापिटल रिडेम्पसन रिजर्भलाई क्यापिटल एडजस्टमेन्ट रिजर्भमा सारिएको छ।
बैंक सञ्चालक समितिले उक्त रिजर्भमा रहेको ६८ करोड ३१ लाख रुपैयाँ र ऋणपत्र परिपक्व भएपछि थपिएको २ अर्ब ५० करोड रुपैयाँसहित कुल ३ अर्ब ५७ करोड ३७ लाख ५० हजार रुपैयाँ बोनस सेयर जारी गर्न मात्र प्रयोग गर्ने निर्णय गरेको छ।
यस व्यवस्थाका कारण नियमित वार्षिकीकरण गरिएको वितरणयोग्य प्रतिसेयर आम्दानी ६.०७ प्रतिशत रहे पनि क्यापिटल एडजस्टमेन्ट रिजर्भसमेत गणना गर्दा यस्तो अनुपात २५.६३ प्रतिशत पुगेको बैंकले जनाएको छ।
ईपीएस १८ रुपैयाँ ७६ पैसा
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि उल्लेख्य सुधार आएको छ। साधारण सेयरका आधारमा गणना गरिएको वार्षिकीकरण प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ७ रुपैयाँ ८२ पैसा थियो।
बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६१ पैसा र प्रतिसेयर कुल सम्पत्ति २ हजार ३७८ रुपैयाँ ८४ पैसा कायम भएको छ। त्यस्तै, मूल्य आम्दानी अनुपात २२.९४ गुणा र तरलता अनुपात ३१.९३ प्रतिशत रहेको छ।
निष्क्रिय कर्जा घट्यो, आधार दर पनि तल
बैंकको निष्क्रिय कर्जा अनुपात घटेर ३.७० प्रतिशतमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ३.८० प्रतिशत थियो। त्यस्तै, खुद निष्क्रिय कर्जा १.३३ प्रतिशतबाट घटेर १.०८ प्रतिशतमा आएको छ।
निष्क्रिय कर्जाविरुद्ध बैंकले गरेको कर्जा नोक्सानी व्यवस्था १०४.०९ प्रतिशत पुगेको छ। यसले निष्क्रिय कर्जाबाट हुन सक्ने सम्भावित जोखिम व्यवस्थापनमा बैंकले पर्याप्त व्यवस्था गरेको देखाउँछ।
बैंकको कोषको लागत ४.१२ प्रतिशतबाट घटेर ३.२७ प्रतिशतमा झरेको छ भने आधार दर ५.९० प्रतिशतबाट घटेर ४.८७ प्रतिशत कायम भएको छ। पछिल्लो तीन महिनाको औसत आधार दर ४.८८ प्रतिशत रहेको छ।
त्यस्तै, बैंकको कर्जा–निक्षेप अनुपात ७५.२९ प्रतिशत, ब्याजदर अन्तर ३.६८ प्रतिशत र पुँजी कोष अनुपात १२.२९ प्रतिशत रहेको छ।
नाफामा भएको सुधारसँगै बैंकको इक्विटीमा प्रतिफल ४.१२ प्रतिशतबाट बढेर ९.२८ प्रतिशत पुगेको छ। त्यस्तै, सम्पत्तिमा प्रतिफल ०.३८ प्रतिशतबाट बढेर ०.७९ प्रतिशत कायम भएको छ।
बैंकिङ कारोबार र ट्रेजरीबाट उल्लेख्य आम्दानी
व्यावसायिक क्षेत्रगत आम्दानीमा बैंकिङ कारोबार मुख्य स्रोतका रूपमा देखिएको छ। यस क्षेत्रबाट बैंकले ५ अर्ब २ करोड २६ लाख रुपैयाँ आम्दानी गर्दै ६१ करोड ८० लाख रुपैयाँ करअघिको नाफा आर्जन गरेको छ।
त्यस्तै, ट्रेजरी कारोबारबाट १ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ आम्दानी र ५८ करोड ८७ लाख रुपैयाँ नाफा भएको छ। अन्तर्राष्ट्रिय रेमिट्यान्सतर्फ १ करोड ६३ लाख रुपैयाँ आम्दानी हुँदा ३ करोड १९ लाख रुपैयाँ सञ्चालन मुनाफा देखिएको छ।
बैंकको ५१ प्रतिशत स्वामित्व रहेको सहायक कम्पनी सिद्धार्थ क्यापिटलबाट बैंकले पहिलो त्रैमासमा ३ करोड ६ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ।
यसअघि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ। अग्राधिकार सेयरधनीलाई भने ८.२५ प्रतिशतका दरले लाभांश वितरण गरिएको बैंकले जनाएको छ।

