काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ४२ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ।
अर्थ मन्त्रालयका अनुसार साउनदेखि असोज मसान्तसम्म नेपालले कुल ४२ अर्ब ३२ करोड ५१ लाख ९२ हजार ७०२ रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको हो।
प्राप्त सहायतामध्ये ३४ अर्ब ३४ करोड दुई लाख २८ हजार ४७० रुपैयाँ ऋण र सात अर्ब ९८ करोड ४९ लाख ६४ हजार २३१ रुपैयाँ अनुदान रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा कुल तीन खर्ब नौ अर्ब दुई करोड ६१ लाख रुपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने लक्ष्य राखेको छ। यसमध्ये दुई खर्ब ४७ अर्ब २८ करोड सात लाख रुपैयाँ ऋण र ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य छ।
पहिलो तीन महिनामा प्राप्त वैदेशिक सहायता वार्षिक लक्ष्यको १३.६९ प्रतिशत हो।
यद्यपि, यस अवधिमा वैदेशिक सहायता प्राप्तिको तुलनामा सहायता प्रतिबद्धता भने निकै न्यून देखिएको छ। मन्त्रालयका अनुसार साउनदेखि असोज मसान्तसम्म सरकारले जम्मा ६ अर्ब ८७ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ।
मासिक विवरणअनुसार साउनमा दुई अर्ब २० करोड ३८ लाख रुपैयाँ, भदौमा एक अर्ब ९३ करोड ७३ लाख रुपैयाँ र असोजमा दुई अर्ब ८७ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

