२०८३, मंसिर ७ गते

  • अर्थतन्त्र
  • ग्लोबल फाइनान्सको रिपोर्ट कार्ड: भारतका गभर्नर...

ग्लोबल फाइनान्सको रिपोर्ट कार्ड: भारतका गभर्नर ‘ए’ मा पर्दा नेपालका पौडेलले पाए ‘बी’ ग्रेड

ग्लोबल फाइनान्सको रिपोर्ट कार्ड: भारतका गभर्नर ‘ए’ मा पर्दा नेपालका पौडेलले पाए ‘बी’ ग्रेड

images
आइतवार, कार्तिक २९ २०८३०२:१९
आइतवार, कार्तिक २९ २०८३०२:१९
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन संस्था ग्लोबल फाइनान्सको सन् २०२६ को ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड’ मा ‘बी’ ग्रेड प्राप्त गरेका छन्।

    ग्लोबल फाइनान्सले विश्वभरका केन्द्रीय बैंकका गभर्नरहरूको वार्षिक कार्यसम्पादन मूल्याङ्कन गर्दै सार्वजनिक गरेको प्रतिवेदनमा गभर्नर पौडेललाई ‘बी’ ग्रेड प्रदान गरिएको हो।

    संस्थाले सन् २०२५ जुलाई १ देखि २०२६ जुन ३० सम्मको अवधिमा गभर्नरहरूले गरेको कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरेको जनाएको छ। मौद्रिक नीतिको प्रभावकारिता, वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण, नीतिगत पारदर्शिता, केन्द्रीय बैंकको स्वायत्तता, आर्थिक पूर्वानुमान र राष्ट्रिय आर्थिक लक्ष्य प्राप्तिमा पुर्‍याएको योगदानलाई मूल्याङ्कनको आधार बनाइएको छ।

    ग्लोबल फाइनान्सले गभर्नरहरूको कार्यसम्पादनलाई ‘ए प्लस’ देखि ‘एफ’ सम्मका विभिन्न श्रेणीमा वर्गीकरण गरेको छ। जसमा ‘ए प्लस’ उत्कृष्ट र ‘एफ’ सबैभन्दा कमजोर ग्रेड हो।

    गभर्नर पौडेलले सन् २०२५ मेदेखि नेपाल राष्ट्र बैंकको नेतृत्व सम्हाल्दै आएका छन्। उनको कार्यकालको प्रारम्भिक अवधिमा नेपालको बाह्य आर्थिक स्थायित्वमा सुधार आएको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदनअनुसार वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्समा भएको वृद्धिले नेपालको विदेशी मुद्रा सञ्चिति २४ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ। उक्त सञ्चितिले करिब १९ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको जनाइएको छ।

    त्यस्तै, मुद्रास्फीति तुलनात्मक रूपमा न्यून रहँदा राष्ट्र बैंकले नीतिगत दर ४.२५ प्रतिशत र बैंक दर ५.७५ प्रतिशत कायम गरेको प्रतिवेदनमा उल्लेख छ। आर्थिक गतिविधिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति अवलम्बन गरिएको पनि प्रतिवेदनले औँल्याएको छ।

    तर, बैंकिङ प्रणालीमा एक खर्ब रुपैयाँभन्दा बढी तरलता उपलब्ध हुँदासमेत निजी क्षेत्रतर्फको कर्जा विस्तार ५ देखि ७ प्रतिशतमा सीमित रहनु चुनौतीका रूपमा देखिएको छ। राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत राखे पनि अपेक्षित रूपमा कर्जाको माग बढ्न नसकेको प्रतिवेदनमा उल्लेख छ।

    निजी क्षेत्रमा कर्जाको माग कमजोर रहनु गभर्नर पौडेलका लागि प्रमुख चुनौती रहेको प्रतिवेदनको निष्कर्ष छ। यसका साथै वित्तीय क्षेत्रको प्रभावकारी सुपरिवेक्षण र नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को खैरो सूचीबाट बाहिर निकाल्नुपर्ने विषयलाई पनि उनका प्रमुख प्राथमिकताका रूपमा उल्लेख गरिएको छ।

    कुन देशका गभर्नरले पाए उत्कृष्ट ग्रेड?

    ग्लोबल फाइनान्सको सन् २०२६ को रिपोर्ट कार्डमा डेनमार्क र पेरुका केन्द्रीय बैंकका गभर्नरले सबैभन्दा उत्कृष्ट ‘ए प्लस’ ग्रेड प्राप्त गरेका छन्।

    त्यस्तै, चिली, कोस्टारिका, ग्वाटेमाला, भारत, जमैका, पाराग्वे, सिंगापुर र दक्षिण अफ्रिकाका गभर्नरले ‘ए’ ग्रेड पाएका छन्।

    अल्बानिया, अर्जेन्टिना, कम्बोडिया, चेक गणतन्त्र, डोमिनिकन गणतन्त्र, केन्या, कुवेत, मोरक्को, फिलिपिन्स, पोल्यान्ड, सर्बिया, स्विट्जरल्यान्ड, ताइवान र संयुक्त अरब इमिरेट्सका गभर्नरले ‘ए माइनस’ ग्रेड प्राप्त गरेका छन्।

    अस्ट्रेलिया, बहामास, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, इजिप्ट, नाइजेरिया, श्रीलंका र जाम्बियालगायतका देशका गभर्नरले ‘बी प्लस’ ग्रेड पाएका छन्।

    नेपालसँगै आर्मेनिया, बोस्निया तथा हर्जगोभिना, बहराइन, कतार, स्विडेन, टर्की र बेलायतका गभर्नरले ‘बी’ ग्रेड प्राप्त गरेका छन्।

    त्यस्तै, पाकिस्तान र दक्षिण कोरियालगायतका देशका गभर्नरले ‘बी माइनस’, अंगोला, घाना, मौरिटानिया र मोजाम्बिकले ‘सी प्लस’ तथा मध्य अफ्रिकी राज्यहरूको बैंक, गाम्बिया, जर्जिया र रुवान्डाले ‘सी’ ग्रेड पाएका छन्।

    आइसल्यान्डका गभर्नरले ‘सी माइनस’ र ट्युनिसियाका गभर्नरले ‘डी प्लस’ ग्रेड प्राप्त गरेका छन्।

    यस मूल्याङ्कनले केन्द्रीय बैंकका गभर्नरहरूको मौद्रिक नीति सञ्चालन, वित्तीय स्थायित्व कायम गर्ने क्षमता र आर्थिक व्यवस्थापनमा उनीहरूको भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा तुलना गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend