काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ५.७९ प्रतिशतले वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नाफासहित बिमाशुल्क आर्जन र जीवन बिमा कोषमा समेत सुधार देखिएको छ।
असोज मसान्तसम्म कम्पनीले १६ करोड १३ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १५ करोड २५ लाख १३ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको कुल बिमाशुल्क आर्जन २२.१६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको थियो।
त्यस्तै, खुद बिमाशुल्क आर्जन २१.३८ प्रतिशतले वृद्धि भई २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको असोज मसान्तसम्म यस्तो आर्जन २ अर्ब २८ करोड ४० लाख रुपैयाँ थियो।
कम्पनीले समीक्षा अवधिमा लगानी तथा कर्जाबाट ८० करोड ६४ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ। बिमालेख धितो कर्जाको ब्याजबाट १३ करोड ४१ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस अवधिमा कुल १ अर्ब २० करोड ७९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।
असोज मसान्तसम्म कम्पनीको जीवन बिमा कोष ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ रहेको छ। यस्तै, महाविपत्ति कोषमा ३४ करोड ५० लाख रुपैयाँ, सञ्चित नाफामा ६७ करोड ३ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ४० लाख रुपैयाँ रहेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ २९ पैसा, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात ३५.४७ गुणा रहेको छ। प्रतिसेयर कुल सम्पत्ति १ हजार २१६ रुपैयाँ ३६ पैसा कायम भएको छ।
त्यस्तै, कम्पनीको सल्भेन्सी मार्जिन अनुपात १३३ प्रतिशत पुगेको छ भने सक्रिय बिमालेख संख्या ६ लाख ५१ हजार १५ रहेको छ।

