२०८३, मंसिर ७ गते

  • बिमा
  • २२ वर्षमा शिखर इन्स्योरेन्स : चुक्ता...

२२ वर्षमा शिखर इन्स्योरेन्स : चुक्ता पुँजी ३ अर्ब १० करोड, दाबी भुक्तानी ३० अर्ब नाघ्यो

२२ वर्षमा शिखर इन्स्योरेन्स : चुक्ता पुँजी ३ अर्ब १० करोड, दाबी भुक्तानी ३० अर्ब नाघ्यो

images
बुधवार, मंसिर २ २०८३१२:००
बुधवार, मंसिर २ २०८३१२:००
  • images

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको २२ वर्ष पूरा गरेको छ। सन् २००४ मा नेपालको १४औँ निर्जीवन बीमा कम्पनीका रूपमा स्थापना भएको कम्पनीले वित्तीय सबलता, व्यवसाय विस्तार र ग्राहकको विश्वासका आधारमा आफूलाई मुलुकको अग्रणी निर्जीवन बीमा कम्पनीका रूपमा स्थापित गरेको जनाएको छ।

    स्थापनाका बेला १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको पुँजी हाल ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ। कम्पनीका अनुसार यो नेपालको निर्जीवन बीमा क्षेत्रकै सबैभन्दा उच्च चुक्ता पुँजी हो।

    त्यस्तै, स्थापनाको समयमा १३ करोड रुपैयाँ रहेको प्रिमियम संकलन आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। वार्षिक प्रिमियम संकलन १ अर्बबाट बढाएर ६ अर्ब रुपैयाँ पुर्‍याउने पहिलो निर्जीवन बीमा कम्पनी बनेको शिखरले १३ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको जनाएको छ।

    कम्पनीले स्थापनादेखि हालसम्म दुई लाखभन्दा बढी बीमा दाबी फर्छ्योट गरी बीमितलाई ३० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ।

    गोरखा भूकम्प, जेनजी आन्दोलनलगायत विभिन्न विपद् तथा संकटका समयमा पनि बीमितलाई आर्थिक सुरक्षा प्रदान गर्दै आएको कम्पनीको भनाइ छ।

    वित्तीय सबलता र डिजिटल सेवामा जोड

    शिखर इन्स्योरेन्सले पुनर्बीमा व्यवस्थामार्फत आफ्नो वित्तीय सुरक्षालाई थप मजबुत बनाएको जनाएको छ। कम्पनीका सबै विदेशी ट्रिटी पुनर्बीमा साझेदारले ‘ए’ वा सोभन्दा माथिल्लो रेटिङ प्राप्त गरेका छन्।

    त्यस्तै, इक्रा नेपालले कम्पनीलाई बीमा क्षेत्रकै उच्चमध्ये ‘डबल ए माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। कम्पनीले नेपालमा आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गर्ने एक मात्र निर्जीवन बीमा कम्पनी भएको दाबीसमेत गरेको छ।

    ग्राहकलाई सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले ‘डिजिटल शिखर’ सेवा सञ्चालनमा ल्याएको छ। यसमार्फत ग्राहकले अनलाइनबाटै बीमा पोलिसी खरिद तथा नवीकरण, भुक्तानी र दाबी प्रक्रियासम्बन्धी सेवा लिन सक्नेछन्। ग्राहक सहायताका लागि कम्पनीले २४ घण्टे कल सेन्टरसमेत सञ्चालन गरिरहेको छ।

    ७१ जिल्लामा १२९ कार्यालय, तीन लाखभन्दा बढी ग्राहक

    कम्पनीका अनुसार हाल शिखर इन्स्योरेन्सले सातै प्रदेशका ७१ जिल्लामा रहेका १२९ कार्यालयमार्फत तीन लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। कम्पनीमा ६८१ कर्मचारी कार्यरत छन्, जसमध्ये करिब ४० प्रतिशत महिला रहेका छन्।

    कम्पनीले सम्पत्ति, मोटर, सामुद्रिक, इन्जिनियरिङ, उड्डयन र कृषिलगायत विभिन्न क्षेत्रमा ७८ प्रकारका बीमा उत्पादनमार्फत सेवा दिँदै आएको छ।

    त्यस्तै, कम्पनीको लगानी पोर्टफोलियो ५ अर्ब १० करोड रुपैयाँ पुगेको छ। उक्त लगानी पर्यटन, कृषि र जलविद्युत् लगायतका आर्थिक क्षेत्रमा परिचालित रहेको कम्पनीले जनाएको छ। राष्ट्रिय राजस्वमा पुर्‍याएको योगदानका लागि आन्तरिक राजस्व विभागबाट समेत कम्पनी सम्मानित भएको जनाएको छ।

    स्थापनाको २२ वर्ष पूरा गरेको अवसरमा कम्पनीले बीमित, सेयरधनी, कर्मचारी, अभिकर्ता तथा व्यावसायिक साझेदारको विश्वास र सहयोगप्रति आभार व्यक्त गरेको छ।

    आगामी दिनमा प्रविधिको प्रयोग विस्तार, बीमाको पहुँच वृद्धि, दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउने र ग्राहक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend