काठमाडौँ । सेवाग्राहीको अत्यधिक भिडभाडहुने कार्यालयमा पर्छन् मालपोत, नापी, यातायातदेखि जिल्ला प्रशासन कार्यालय ।
समयमा काम नगरी जनतालाई दुख दिएको ती कार्यलयका कर्मचारीलाई आरोप लाग्छ । पैसा नतिरी सेवा पाउनै मुश्किल छ भन्ने गुनासो अहिलेपनि सुनिन्छ । छिटो काम नगरिदिँदा भीड कहिले पनि घट्दैन ।
यस्तै गुनासोले भरिएको एउटा सरकारी कार्यालयका हाकिम साबले ‘क्रान्तिकारी रुपान्तरण’को पहल थालेका छन् । उनले कार्यालय रहेको भवन रंग्याएका छन् । सेवाग्राहीको काम फटाफट गर्ने ‘मेकानिज्म’ बनाउँदैछन् ।
हो, भूमिसुधार तथा मालपोत कार्यालय, लगनखेलको रुप फेरिएको छ । सरकारी कार्यालयमध्ये धेरै भिड हुने र पैसा नखुवाई कामै गर्न नसकिने भनेर नकारात्मक चर्चा पाएको यो मालपोत कार्यालयको गिरेको खास फर्काउन कम्मर कसेर लागेका छन्, प्रमुख जीवनराज सेढाई ।
प्रमुख मालपोत अधिकृत भएर हाजिर गरेदेखि यता सेवाप्रवाहमा केही हदसम्म सुधार भएको सेवाग्राही बताउँछन् । गत बैशाखमा मालपोत अधिकृतका रुपमा कार्यालय पुगेका सेढाईले कार्यालय सुधारमा आफू केन्द्रीत भएर लागिपरेको स्वीकार गरे ।
‘म कार्यालय आउँदा यहाँका भौतिक संरचनादेखि प्रशासनीक कार्य अस्तव्यस्त जस्तै थियो, महिनौँदेखि रोकिएका पूरागर्ने देखि कार्यालयलाई कार्यालयजस्तो बनाउनै म केन्द्रीत छु’, आइतबार सीएनएन खबरकर्मी मालपोत पुग्दा उनले सुनाए ।
उनले आफू सेवाग्राही मैत्री सेवा प्रवाह बनाउने सिलशिलामा समग्र व्यवस्थापकीय सुधारको लागि प्रयास गरेको भन्दै अन्तर निकाय (संघीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालय) संगको सहयोग एवं समन्वयमा कार्यालयको रंगरोगंन समेत गरिएको बताए ।
‘मैले गुणस्तरीय सेवादेखि कार्यालयको रंग रोगन सबै परिवर्तन गरेको छु, मालपोत भित्र पस्र्दा ट्वाइलेटकाे गन्धले कार्यकक्षमा बस्न सक्ने अवस्था थिएन, अहिले बरु कार्यालय फोहोर होला तर ट्वाइलेट त्यति सफा बनाएको छु’, उनले भने ।
कार्यालय भित्र पस्नासाथ गन्ध खाएपछि गुणस्तरीय सेवा दिन सकिदैन भन्दै उनले सफाईलाई प्रमुख महत्व दिएको बताए । सफाइसँगै उनले बृृद्ध तथा जेष्ठ नागरिकलाई लक्षित गर्दै कार्यालय परिसरमा विश्राम स्थल, स्तनपान कक्ष, पिउने पानी र टेलिभिजनको समेत व्यवस्था गरिएको बताए ।
भित्र फाटमा काम भैरहेको हुन्छ, सेवाग्राही बाहिर यत्तिकै उभिनुपर्ने अवस्था छ, मैले खाली भएको स्थानमा कुर्सी राखिदिएको छु, कुुर्सीसँगै खानेपानीको व्यवस्था रहेको छ’, उहाँहरुकै लागि लेखापढी व्यवसायीको सहयोगमा टिभि समेत राखिएको छ’, उनले भने ।
बाहिरि रंगरोगन सँगै उनले नियम कानुन अनुसार हुने काम होल्ड नगर्न कर्मचारीलाई निर्देशन दिएको बताए । ‘म आएको केही दिनमै यहाँको अवस्था थाहा पाए, मैले मातहतका कर्मचारीलाई नियम अनुसार हुने काम नरोक्न निर्देशन दिएको छु, यदि कुनै कर्मचारीले रोकेको पाए तत्काल उहाँलाई बोलाएर आवश्यक कारवाही समेत मैले गरेको छु’, उनले भने ।
प्रत्येक दिन बैठक
सेढाई कार्यालय प्रमुख भएर मालपोतमा आएपछि उनले कर्मचारीको सेवा प्रवाहलाई मध्यनगर गर्दै प्रत्येक दिन कर्मचारीको बैठक बस्ने व्यवस्था मिलाएका छन् । अघिल्लो दिनमा भएका काम र समस्याका बारेमा जानकारी लिन उनले प्रत्येक दिन बिहान १० बजेदेखि साढे १० बजेसम्म बैठक बस्ने व्यवस्था गरेका हुन् ।
प्रत्येक दिन बिहान आधा घण्टा नियमित कार्यको समिक्षा र दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सबै कर्मचारीको उपस्थितिमा सामूहिक छलफल गर्ने गरिएको उनले बताए ।
महिनौँ लाग्ने काम सातामै
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पाटन इकाइका अध्यक्ष दीपक कुमार केसी मालपोतमा महिनौँदेखि रोकिएका कामहरु हाल चूस्त रुपमा हुने गरेको बताउँछन् ।
पहिला पहिला महिनौँसम्म पनि काम नभएर सेवाग्राहीहरुले अनावश्यक दुख पाइरहेका थिए, सेढाई सर कार्यालय प्रमुखका रुपमा आएपछि नियमसंगत आएका कामहरु कुनै पनि पेन्डीङ भएका छैनन्’, उनले भने ।
उनले नियम अनुसार आएका फाइलहरु रोकेर अनावश्यक दुख दिने परम्पराको अन्त्य भएर अहिले ढिलोमा १ सातामा सम्पूर्ण कामहरु हुने गरेको बताए ।
‘पहिलाका हाकिम सापहरुले सेवाग्राहीसँग भेट गर्नै मान्नुहुन्न्थ्यो, भेट नै नगरेपछि उहाँहरुको काम छिटो हुने कुरा नै भएन । तर, अहिले अवस्था फेरिएको छ । अहिलेका हाकिमले सिधै सेवाग्राहीसँग भेट गर्नुुहुन्छ, उहाँ बेला बेलामा अन्य शाखामा छड्के रुपमा गएर भएका कामहरुको बासेमा जानकारी लिनुहुन्छ । सेवाग्राहीसँग सोधपुच्छ गरेर थप गर्नुपर्ने कामको बारेमा समेत सुझाव सल्लाह लिने गरेको हामीले देखेका छाैँ’, उनले भने ।
उनले जीवन राज सेढाई मालपोतका प्रमुख भएर आएपछि सेवाग्राहीले सेवा प्रवाहको बारेमा गुनासो कम गरेको उनकोे भनाई छ ।
कार्यालयको संरचना, कर्मचारीको व्यवस्थापन, सेवा प्रवाह, आर्थिक प्रशासन, सूचना प्रविधि र अभिलेख व्यवस्थापनमा सुधारको काम थालनी भएको उनले बताए ।
कर्मचारीको सरुवा
हाल स्थायी, करार तथा दैनिक ज्यालादारी गरेर झन्डै डेढ सय कर्मचारी कार्यरत ललितपुर मालपोतमा सेढाई आएपछि केही कर्मचारीको सरुवा भयो । मालपोत कार्यालयबाट अन्यन्त्र कार्यलयमा सरुवा भएपनि जान नमानेका कर्मचारीको उनले सरुवा गरिदिएका हुन् ।
भनेको स्थानमा सरुवा नजाने र सेवाग्राहीलाई अनावश्यक दुख निदे कर्मचारीलाई आफूले सरुवा गरेको उनको भनाई छ ।
‘एकै कर्मचारी लामो समयदेखि एकै कार्यालयमा बस्दा त्यसको आउटपुट राम्रो आउँदैन, सरकारले सरुवा गरेको लामो समयसम्म पनि रमाना लिन नमान्ने केही कर्मचारीहरुलाई म आएपछि सरुवा गरे, उनले भने, केहीलाई मैले सरुवा गरे, अरुको गरेको देखिपछि बाँकी रहेका कर्मचारीहरु आफैले रमाना लिएर जानुभयो’, उनले भने ।
उनले लामो समयदेखि एकै कार्यालयमा बसेको र सरुवा भएपनि जान नमानेपछि त्यसको पछाडी ठुलै कारण रहेको आफूले पाएको बताए ।
मुलुकका सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालयमा मालपोत, भूमिसुधार र नापी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य संस्थाले पनि पटकपटक औंल्याउदैँ आएका छन् । अब त्यसलाई चिरेर, अनावश्यक दुख नपाई नियम कानुन बाहेक एक रुपैयाँ पनि खर्च नगरी मालपोतको काम हुन्छ है भन्ने भाष्य बनाउन आफू लागिपरेको उनको भनाई छ ।
उनले आफू ललितपुर मालपोतमा आएपछि मासिक रुपमा कार्यालयको सरसफाई, वेवसाइट अपडेटदेखि सूचना अधिकारी तोक्ने, सेवाग्राहीको डिजिटल थम्प लिने कार्यको थालनी, सेवाग्राहीसँग सेवाप्रवाहका सम्बन्धमा फिडब्याक लिने, नागरिक वडापत्रलाई क्यू आर कोडमा राख्ने, ड्रेस कोर्ड समयपालन लगायत कर्मचारीले पालना गर्नुपर्ने आचरणलाई कडाई गरिएको, प्रविधि मैत्री बनाउने उद्देश्यले हुँदै आएका कार्यहरुलाई थप प्रभावकारी बनायन विशेष जोड दिएको र कार्यालयमा आवत जावत गर्ने जिर्ण सडकको स्तरोन्नती (मर्मत सम्भार र ढलान) तथा अव्यवस्थित पार्किङ व्यवस्थितका लागि सहयोग गरिदिन ललितपुर महानगरपालिकालाई आग्रह गरिएको उनले बताए ।

यातायात सिन्डिकेट तोड्न खोज्दा गोली खाए
सेढाई उनै व्यक्ति हो, जसलाई यातायात सिन्डिकेट तोड्न खोज्दा गोली हानिएको थियो । पोखरा यातायातमा रहँदा यातायात व्यवसायीको प्रलोभनमा नपरी काम गर्दा उनलाई कामको सिलसिलामा काठमाडौँ आउँदा गोली हिनिएको थियो ।
‘म त मरेर बाचेको मान्छे हो । यो मेरो दोस्रो जिवन हो, यसमा मैले केही गरेर देखाउनुपर्छ भनेर लागिपरेको छु । एक जना प्रमुखले चाह्यो भने साँचै परिवर्तन हुन्छ है भनेर देखाउन नै म यहाँ आएको हुँ’, उनले भने, ‘२०४७ सालबाट निजामति कर्मचारीको रुपमा सेवा प्रवेश गरेको हुँ । आजसम्म मैले केही बदमासी गरेको छैन, जाने बेलामा यसरी नै जान पाए पुग्छ ।’
पोखरामा यातायातको सिण्डिकेट तोड्न २०६१ सालमा उनलाई पोखराको साराङकोट तथा काठमाडौँको महाराजगन्जमा घर घडेरेको अफर नआएको होइन ।
‘मेरो बुबा त्यतिबेलाको प्रधानपञ्च हुनुुहुन्थ्यो । घोडा चढेर हिड्ने बुुबाको छोराले तिमिहरुले दिएको घुुस लिन्छु, मलाइ पुुग्ने सेवासुविधा सरकारले दिएको छ भनेर मैलै ढाडै अस्वीकार गरे, विगतका दिन सम्झदै उनले भने, मैले चाहेको भए त्यतिबेला नै गल्ती गर्न सक्थे नी । म सरकारी सेवा सुधार गर्न आएको मान्छे हुँ, जहाँ जान्छु आफूले सक्ने सुधार गर्छु’, उनले भने ।
उनले आफू ललितपुर मालपोतमा आएर सुधारको प्रयास गर्दा विभिन्न खालको प्रलोभन समेत आएको बताए । म यहाँ आएपछि धेरै प्रलोभन आएका थिए, मैले सिधै हुन्न भनेपछि मेरो सरुवाको प्रयास समेत भयो, तर मेरो काम देखेर मन्त्रालयबाट सरुवाको प्रयासलाई रोकिएको थाहा पाएको उनले बताए ।

