२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • ३० वर्षपछि बन्ने भयो घोरदह नदीमा...

३० वर्षपछि बन्ने भयो घोरदह नदीमा पुल

३० वर्षपछि बन्ने भयो घोरदह नदीमा पुल

बुधवार, मंसिर १९ २०८१०८:१७
बुधवार, मंसिर १९ २०८१०८:१७
  • images

    काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ मा ३० वर्षको तयारीपश्चात मोटरेबल पुल बन्ने भएको छ । 

    मंगलबार शहरी विकास मन्त्रालयले वडा नम्बर २ अन्तर्गत महुवा–मोहनपुर जोड्ने घोरदह नदीमा माेडुलर पुल निर्माणका लागि बजेट विनियोजन गरेसँगै पुल बन्ने भएको हो । 

    मंगलबार स्थानीय पूर्वाधार विकास विभागका एसडिइ नारायण श्रेष्ठ, उक्त कार्यालयकै इन्जिनियर आशुतोष ढुङ्गाना, पुल विज्ञ सुमन नकर्मी, पुल डिजाइनर प्रत्युस झा, र निर्माण व्यवसायी राजु रानाभाट सहितको टोलीले स्थलगत अनुगमन गरेसँगै आगामी महिनाबाट निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी बताउँछन् । 

    उनले सो पुल निर्माणले छिन्नमस्ता गाउँपालिकाको महुवा, मोहनपुर, र रमपुराका बासिन्दालाई दैनिक जीवनमा आवागमन सहज बनाउँदै, उनीहरूको जीविकोपार्जनमा ठूलो सहयोग पुर्याउने बताए । 

    उक्त नदीमा पुल निर्माण भएसँगै किसानलाई आफ्नो उत्पादन सहजै बजारसम्म पुर्याउन मद्दत गर्दै कृषि व्यवसाय प्रवर्द्धनमा योगदान समेत गर्ने अपेक्षा रहेको छ ।

    यस्तै, भारतको भडफोरी लगायत विभिन्न स्थानबाट छिन्नमस्ता मन्दिर दर्शन गर्न आउने तिर्थयात्रीहरूका लागि पुलले यातायातलाई सुगम बनाउनछ । 

    सो नदीमा पुल निर्माणको परियोजना करिब ३० वर्षदेखि पूरा हुन नसकेको स्थानीय आकांक्षाको पूर्ति गर्दै ऐतिहासिक उपलब्धि बन्नेछ । यसले केवल भौतिक संरचना निर्माणमा मात्र होइन, हाम्रो सामाजिक, सांस्कृतिक, र आर्थिक उन्नतिमा समेत दीर्घकालीन प्रभाव पार्ने अध्यक्ष चौधरी बताउँछन् ।

    ‘म छिन्नमस्ता गाउँपालिकाको प्रमुखको हैसियतमा, यो महत्त्वपूर्ण कार्यमा साथ र सहयोग पुर्याउनु हुने सबैलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु । अबको हाम्रो साझा प्रतिबद्धता भनेकै यस परियोजनालाई समयमै सम्पन्न गरी छिन्नमस्ताको विकासलाई नयाँ उचाइमा पुर्याउनु हो’, उनले भने । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend