काठमाडौँ । चौंथो स्व, गणेशप्रसाद रिजाल स्मृति गाायन प्रतियोगिताको उपाधि रिलायन्स इन्टरनेशन एकेडेमीले पाएको छ ।
जोरपाटीस्थित टाइमलाइन स्कुलले आयोजना गरेको स्वर्गीय गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिता तथा स्रष्टा सम्मानको चौंथो संस्करण अन्तरगत कपनमा सञ्चालित उक्त एकेडेमीले पाएको हो ।
स्कुलले शुक्रबार ३० वटा विद्यालयलाई सहभागीता गराएर खुला गायन प्रतियोगिता आयोजना गरेको थियो ।
यस्तै, खुला गायन प्रतियोगितामा द सेलिब्रेसन को–एड स्कुल द्वितीय हुँदा नारायणटारस्थित सुनौलो भविष्य स्कुलले तृतीय स्थान हासिल गरेको छ । प्रथम, द्वितीय र तृतीयले क्रमश ८ हजार, ६ हजार र ४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
अत्तरखेलस्थित लिबर्टी एकेडेमी चौथो, जुगल नव गुरुकुल स्कुल पाचौँ, इष्टपोल स्कुल छैटौँ, गोठाटार इङ्लिस स्कुल सातौँ, युनाइटेड युनिभर्सल स्कुल आठौँ, बसुन्धारा नेशनल एकेडेमी नवौँ र हाइली क्रिएटीभ स्कुलले दशौँ स्थान हात पारेको थियो । चौंथोदेखि दशौँ हुने प्रतियोगीहरुलाई २ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रमार्फत पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा बरिष्ठ संगीतकार भुपेन्द्र रायामाझी र राधा राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा गीतकारको निर्णायकका रुपमा साहित्यकार नारायण नेपाल थिए ।
प्रतियोगितामा गीतकारतर्फ ग्लोबल पब्लिक स्कुलका एमके परासरले प्रथम स्थान हात पार्न सफल भए । त्यस्तै, नवअरुणिमा स्कुलका शंकर योगी द्वितीय हुँदा साइप्रस पब्लिक स्कुलका गिरीाज राई तृतीय भएका थिए । उनीहरुलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।
त्यस्तै, संगीतकारतर्फ अक्सिडेन्टल पब्लिक स्कुलका राजेन्द्र सुवेदी प्रथम भएका छन् । जोरपाटीस्थित सिर्जना इङ्लिस सेकेण्डरी स्कुलका दीपक तामाङ द्वितीय हुँदा नव सुन्ताखान एकेडेमीका डा. निरञ्जन भण्डारीले तृतीय स्थान हासिल गरेका थिए ।
टाइमलाइनले विगतका वर्षहरुमा झैँ यसवर्ष पनि स्रष्टा सम्मान गरेको छ । जसमा साहित्यकार गोविन्द घिमिरे (वेदमणी)लाई नगद पाँच हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

