काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा एकैसाथ आमा र छोरी दीक्षित भएका छन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी निवासी ५० वर्षीय ललिता उप्रेती रिजाल र उनकी छोरी दीक्षा रिजाल शनिबार सँगै स्नातक तहको दीक्षान्त समारोहमा सहभागी भएका हुन् ।
टाइम लाइन स्कुल सञ्चालन र अध्यापन गराउँदै आएकी ललिता उप्रेती रिजालले राजनीतिशास्त्रमा स्नातक गरेकी हुन् । उनले प्राइभेट परीक्षा दिएर स्नातक तह उत्तीर्ण गरेकी हुन् ।
छोरी दीक्षाले भने ट्राभल एन्ड टुरिज्ममा स्नातक गरेकी छन् । उनले त्रिवि सम्बद्ध एनसीटीटीएम कलेजबाट स्नातक तह उत्तीर्ण गरेकी हुन् । आमा र छोरी सँगै दीक्षित भएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठजना विद्यार्थी शनिबार दीक्षित भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी ओलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५०औं दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे ।

