२०८३, भाद्र ४ गते

images

नाडा अटो शोका ‘कप्तान’ अनुप बराल

नाडा अटो शोका ‘कप्तान’ अनुप बराल

images
बिहिवार, भाद्र ४ २०८३०२:१२
बिहिवार, भाद्र ४ २०८३०२:१२
  • काठमाडौँ । जसरी एउटा संस्था सञ्चालन गर्न कुशल प्रशासक, स्पष्ट दृष्टिकोण र दीर्घ अनुभव आवश्यक पर्छ, त्यसैगरी देशकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीलाई सफल बनाउन पनि त्यत्तिकै सक्षम नेतृत्वको खाँचो पर्छ । हजारौँ दर्शक, सयौँ ब्रान्ड र करोडौँ रुपैयाँको कारोबार जोडिने नाडा अटो शो जस्तो मञ्च केवल व्यवस्थापनले मात्र होइन, अनुभवी नेतृत्वले मात्र सफल बनाउन सक्छ ।

    यही नेतृत्वको उदाहरण बनेका छन् अनुप कुमार बराल ।

    नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र बहुप्रतीक्षित प्रदर्शनी नाडा अटो शो सुरु हुनुअघि भृकुटीमण्डपमा चहलपहल बढिसकेको छ । तर यो प्रदर्शनीको सफलताको कथा केवल स्टल, गाडी र ब्रान्डको मात्र नभएर पर्दापछाडि निरन्तर खटिने नेतृत्वको पनि हो ।

    त्यही नेतृत्वको केन्द्रमा छन् बराल । जसले १८ औँ नाडा अटो शो २०२६ को संयोजकको जिम्मेवारी सम्हालिरहेका छन् । यो उनको पहिलो अनुभव होइन । यसअघि ५ औँ पटकसम्म नाडा अटो शोको सफल संयोजन गरिसकेका बराल अहिले छैटौँ जिम्मेवारीमा छन ्। लगातार सफल व्यवस्थापनका कारण नाडाले उनलाई पटक–पटक अटो शोको ‘कमान्ड’ सुम्पिँदै आएको हो ।

    सेल्स अफिसरबाट सुरु भएको यात्रा

    बरालको अटोमोबाइल यात्राको सुरुवात आजको जस्तो ठूलो व्यवसायबाट भएको थिएन ।

    सन् २००० मा सिप्रदी ट्रेडिङमा सेल्स अफिसरका रूपमा प्रवेश गरेका उनले त्यहीँबाट नेपाली अटोमोबाइल बजारलाई नजिकबाट बुझ्ने अवसर पाए । गाडी बिक्री गर्ने क्रममा ग्राहकको आवश्यकता, बजारको माग, ब्रान्डको प्रतिस्पर्धा र डिलर नेटवर्कको वास्तविकता बुझ्दै जाँदा अटोमोबाइल क्षेत्र उनको पेशा मात्र रहेन, व्यवसायिक यात्राको प्रमुख आधार बन्यो ।

    करिब एक दशक सिप्रदी ट्रेडिङमा काम गरेपछि सन् २०१० मा उनले त्यही कम्पनीको डिलरसिप लिएर आफ्नै अटोमोबाइल व्यवसाय सुरु गरे ।

    सेल्स अफिसरका रूपमा सुरु भएको यात्रा त्यसपछि व्यवसायी हुँदै अटोमोबाइल क्षेत्रका विभिन्न जिम्मेवारीसम्म विस्तार भयो ।

    आज बरालले नेपाली अटोमोबाइल क्षेत्रमा २६ वर्ष बिताइसकेका छन् ।

    त्यसैले उनका लागि अटो शो भनेको केही दिनको प्रदर्शनी व्यवस्थापन मात्र होइन । यो आफूले दुई दशकभन्दा बढी समयदेखि नजिकबाट नियालेको उद्योगको बदलिँदो तस्वीरलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर पनि हो ।

    anup1.jpeg

    अटो शोका ‘कप्तान’

    नाडा अटो शोमा सयौँ कर्मचारी, दर्जनौँ ब्रान्ड, हजारौँ सवारीसाधन र लाखौँ दर्शकको व्यवस्थापन गर्नुपर्छ।  एउटा सानो कमजोरीले पनि ठूलो आयोजनाको समग्र अनुभव प्रभावित हुन सक्छ ।

    यही चुनौतीपूर्ण जिम्मेवारीको नेतृत्व बरालले पटक–पटक गरिसकेका छन् । पाँच पटक संयोजक बनेर शो सफलतापूर्वक सम्पन्न गरिसकेका बरालले यसपटक १८औँ संस्करणको नेतृत्व गरिरहेका छन् ।

    उनको नेतृत्वमा नाडा अटो शोको स्वरूप पनि क्रमशः परिवर्तन हुँदै गएको छ । पहिले नयाँ गाडी र मोटरसाइकल हेर्ने मुख्य थलोका रूपमा चिनिने अटो शो अहिले प्रविधि, विद्युतीय सवारीसाधन, वित्तीय सेवा, अटो पाट्र्स, मोबिलिटी र उद्योगसँग जोडिएको ठूलो प्लेटफर्मका रूपमा विस्तार हुँदै गएको छ ।

    बरालका लागि यही परिवर्तन अटो शोको वास्तविक सफलता हो ।

    ‘अटो शो भनेको गाडी प्रदर्शन मात्र होइन’

    आजको अटोमोबाइल उद्योग केही वर्षअघिको जस्तो छैन । विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग, एआई, कनेक्टिभिटी, स्मार्ट मोबिलिटी र डिजिटल प्रविधिले सवारीसाधनको परिभाषा नै परिवर्तन गरिरहेको छ ।

    त्यसैले १८औँ नाडा अटो शो पनि पुरानो ढाँचामा सीमित छैन । नाडाको ५०औँ वार्षिकोत्सवसँग जोडिएको यसपटकको शोमा नयाँ सवारीसाधनसँगै एआई, रोबोटिक्स, डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

    बरालको अनुभवले उनलाई एउटा कुरा राम्ररी सिकाएको छ,अटोमोबाइल उद्योग परिवर्तन भइरहँदा अटो शो पनि परिवर्तन हुनुपर्छ ।

    ५० वर्षको नाडा, १८औँ संस्करणको चुनौती

    यसपटक नाडा आफ्नो ५०औँ स्थापना वर्ष मनाउँदैछ । त्यसैले १८औँ अटो शो सामान्य संस्करणभन्दा फरक र अझ अर्थपूर्ण बनाउने चुनौती आयोजकसामु छ ।

    करिब ३ लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने शोमा २०० भन्दा बढी स्टल रहनेछन्। प्यासेन्जर कार, लाइट कमर्सियल भेइकल, दुईपाङ्ग्रे सवारीसाधन, अटोमोबाइल पाट्र्स, वित्तीय तथा बीमा संस्थालगायतको सहभागिता रहनेछ ।

    आयोजकले करिब २ लाख दर्शक भित्र्याउने अपेक्षा गरेको छ ।

    यसपटक ‘मेड इन नेपाल’ केन्द्रमा

    १८औँ नाडा अटो शोको अर्को विशेष पक्ष हो,‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ प्याभिलियन ।

    नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई छुट्टै स्थान दिएर स्वदेशी उत्पादनको सम्भावना देखाउने प्रयास गरिएको संयोजक बराल बताउँछन् । 

    उनका अनुसार अहिलेको शो मा मोटरसाइकल, स्कुटर, टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र स्पेयर पाट्र्सजस्ता उत्पादनलाई एउटै प्याभिलियनमा प्रस्तुत गरिँदैछ ।

    nada.jpg

    यसले बरालको लामो अटोमोबाइल अनुभवले देखेको अर्को महत्वपूर्ण पक्षलाई समेत उजागर गर्छ, नेपालमा अटोमोबाइल उद्योग केवल आयात र बिक्रीमा सीमित रहनु हुँदैन ।

    उत्पादन, एसेम्बली, रोजगारी, सीप विकास र प्रविधि हस्तान्तरणसँग जोडिन सके मात्र उद्योग दीर्घकालीन रूपमा बलियो बन्न सक्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend