काठमाडौँ । गुल्मीको सामान्य परिवारमा जन्मिएका शंकर भण्डारीका लागि सफलता कुनै तयार भइसकेको बाटो थिएन । गाउँको सामान्य परिवेश, सीमित आर्थिक अवस्था र ठूला सपना बोकेर उनी उच्च शिक्षाको खोजीमा राजधानी काठमाडौं आएका थिए । तर, काठमाडौंको यात्रा केवल पढाइको मात्र थिएन, त्यो संघर्ष, जिम्मेवारी र आत्मविश्वासको कठोर परीक्षा पनि थियो ।
काठमाडौँ आएपछि उनले बुबाले ऋण खोजेर जुटाइदिएको रकमबाट आफन्तसँग साझेदारी गर्दै सुन्धारामा सञ्चालित होटलमा साझेदारको रुपमा काम गर्ने अवसर पाए । त्यहाँ उनले होटल सञ्चालन, पाहुना सत्कार, व्यवस्थापन र व्यवसायको वास्तविक पक्षलाई नजिकबाट बुझ्ने मौका पाए । यही अनुभवले उनको मनमा हस्पिटालिटी क्षेत्रप्रति गहिरो रुचि पैदा ग¥यो ।
तर, धेरै आफन्त मिलेर सञ्चालन गरिएको त्यो होटल व्यवसायले सबै साझेदारको भविष्य सुरक्षित बनाउन सक्ने अवस्था भने थिएन । व्यवसाय चलिरहेको भए पनि आम्दानी सीमित थियो, साझेदार धेरै थिए, र व्यवस्थापन पक्षबाट आफन्त बाहेक अन्य साझेदारले छुट्टै होटल वा समान व्यवसाय सञ्चालन गर्न नपाउने अनौपचारिक नियमजस्तै अवस्था बनाइएको थियो । त्यसैले एउटै व्यवसायबाट सात जना साझेदारको खर्च धान्न पनि कठिन बन्दै गएको थियो ।
उता गाउँका धेरै युवाजस्तै उनले पनि वैदेशिक रोजगारीको बाटो रोज्ने सोच बनाए । पासपोर्ट बनाएर एजेन्टलाई बुझाए । तर, एजेन्टले पासपोर्ट हराइदिएपछि विदेश जाने योजना रोकियो । त्यो घटना उनका लागि ठूलो निराशा भए पनि जीवनको मोड परिवर्तन गर्ने कारण बन्यो ।
विदेश जाने बाटो बन्द भएपछि उनले काठमाडौँमै केही नयाँ गर्ने योजना बनाए ।
होटल उद्योगको चमक धमकभन्दा धेरै उनले त्यस क्षेत्रको कठिन श्रम, अनुशासन र व्यवस्थापनलाई नजिकबाट बुझे । त्यही संघर्षका दिनहरूले उनलाई एउटा सपना देखायो, ‘एक दिन आफ्नै होटल बनाउने ।’ धेरैका लागि त्यो केवल कल्पना हुन सक्थ्यो, तर शंकर भण्डारीका लागि त्यो लक्ष्य थियो ।
व्यापारको टर्निङ पोइन्ट बन्यो किराना पसल
एजेन्टले उनको पासपोर्ट हराइदिएर सम्पर्कमै आउन छोड्यो । त्यसपछि शंकरले आफूसँग बाँकी रहेको ८० हजार रुपैयाँबाट किराना पसल सञ्चालन गर्ने योजना बनाए । सीमित पूँजी, अनिश्चित भविष्य र धेरै चुनौतीकाबीच पनि उनले हार मानेनन् । बरु, त्यही संघर्षले उनलाई व्यवसायप्रति अझ परिपक्व र आत्मनिर्भर बन्न सिकायो ।
उनले सुन्धारामै एउटा खाली घरको सटर भाडामा लिएर पसलका लागि र्याक (दराज) बनाउन लगाए । ‘र्याक बनाउन मात्रै ३५ हजार रुपैयाँ खर्च भयो । बाँकी ४५ हजार रुपैयाँ लिएर सामान किन्न कुलेश्वरको होलसेल पसल पुगेँ,’ ती दिन सम्झँदै भण्डारी भन्छन्, ‘सामान किनेर ट्याक्सीमा राखी पसलमा ल्याएँ । तर सामान राख्दा अधिकांश र्याक खाली नै देखिन्थे । पसल खाली देखिए ग्राहक नआउलान् भन्ने डर लाग्यो । त्यसपछि वरिपरिका पसलबाट खाली कार्टुन मागेर ल्याएँ र र्याकमा राखेर पसल भरिएको जस्तो देखाएँ ।’
सीमित सामान र ठूलो आत्मविश्वासबाट सुरु भएको त्यो सानो किराना पसलले अपेक्षाभन्दा राम्रो व्यापार गर्न थाल्यो । विस्तारै होलसेल व्यवसायीहरूले पनि उनलाई उधारोमा सामान दिन थाले । व्यापार बढ्दै गएपछि उनले गाउँमा पढिरहेका भाइलाई काठमाडौं बोलाए र दाजुभाइ मिलेर पसल सञ्चालन गर्न थाले ।
भाइलाई पसल जिम्मा लगाएर सुन्धारामा बन्दै गरेको घर होटलका लागि भाडामा लिने तयारी गरे । लगानी नहुँदा रोकिएको उनको सपनाले २०६३ तिर मात्रै मूर्तरुप लियो ।
किराना पसलबाट भएको आम्दानीले उनले २०६३ सालमा सुन्धारामा बन्दै गरेको एउटा घर भाडामा लिए । किराना पसल सञ्चालन गरेको ६ महिनामै उनले होटल सञ्चालन गरे । ‘होटलका लागि सिंगै घर भाडामा लिएँ, तर सबै घर नै होटल बनाउन पुग्ने मसँग लगानी थिएन, किराना पसलबाट आएको नाफाबाट मैले सुरुमा २२ वटा रुम रहेको होटलका ८ वटा रुमलाई सेट गरे । किराना पसल र होटलको नाफाबाट मैले १ वर्षभित्र २२ वटै रुम सञ्चालनमा ल्याएँ,’ उनले विगत सम्झँदै भने, ‘८ वटा रुममा सुरुवाती चरणमा ६ लाख रुपैयाँ लगानी गरेकोमा एक वर्षसम्ममा लगानी बढेर १६ लाख रुपैयाँ पुगेछ । मलाई पहिलो वर्ष भाडा तिर्ने र कर्मचारीलाई तलव दिँदा नै ठिक्क भयो ।’
सुन्धाराको उक्त किराना पसल उनले ६ वर्षसम्म चलाएर पछि बिक्री गरेका थिए । पसल छोडेर सञ्चालन गरेको उक्त होटल प्रेसिडेन्ट अहिले पनि सुन्धारामै सञ्चालित छ । होटल सुरू गर्दै गर्दा राजा फालेर नयाँ सरकार गठनको तयारी थियो । सोही कारण उनले पछिसम्मका लागि पनि सम्झना होस् भनेर होटलको नाम प्रेसिडेन्ट राखेको बताए ।
१६ वटा आउटलेट, ६ निर्माणकै चरणमा
२०६३ सालमा काठमाडौँको सुन्धाराबाट सुरु भएको शंकर भण्डारीको व्यवसायिक यात्रा २० वर्षसम्मको अवधिमा देशका अधिकांश स्थानमा फैलिन सफल भएको छ । एजेन्टले पासपोर्ट हराइदिँदा मोडिएको उनको मन अहिले नयाँ नयाँ स्थानमा होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न दौडिरहेको छ । २० वर्षको अवधिमा उनले काठमाडौँका सुन्धारमा ३ वटा होटल र १ वटा रेष्टुरेन्टसँगै एयरपोर्ट, बत्तीसपुतली, पुरानो वानेश्वर, रविभवन, कंलकी, महाराजगञ्ज, माछापोखरी चितवन, लुम्बिनी लगायतका स्थानमा आउटलेट सञ्चालनमा ल्याएका छन् ।
यस्तै, उनी बुटवल, काठमाडौँको बुढानीलकन्ठ र आफ्नै गृहस्थान गुल्मीमा समेत उनले नयाँ होटल सञ्चालनको तयारीमा छन् । यस्तै, खैरेनीको कुरीनटार, पाल्पा र चितवनको सौराहामा गरी ६ स्थानमा उनको नयाँ होटल तथा रेष्टुरेन्ट सञ्चालनको तयारीमा छन् ।
उनले होटलसँगै सेकुवा र खसीको पक्कुका लागि विभिन्न स्थानमा पे्रसिडेन्ट ब्राण्डमै रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याएका छन् । प्रत्येक वर्षको दशैँमा उनले रैथाने खानाको प्रवद्र्धन गर्न भन्दै खसीको पक्कु महोत्सव समेत गर्दै आएका छन् ।
सँगै काम गरेका कर्मचारी ‘पार्टनर’
साझेदारीमा काम गर्दा असहज भएर होटलको व्यवसायी छोडेर किराना पसल सञ्चालन गरेका भण्डारीले आफूसँगै काम गर्ने कर्मचारीलाई व्यवसायीक साझेदार बनाएका छन् । सुरुवाती चरणमा साझेदारसँग कुरा नमिलेर व्यवसाय नै छोड्नुपर्ने आफ्ना विगत बिर्सिएर उनले आफूलाई सुरुवाती चरणमा होटलमा काम गरेका अधिकांश कर्मचारीलाई अहिले व्यवसायिक पार्टनर बनाएका हुन् ।
‘म सामान्य परिवारबाट आएको हुँ । यहाँसम्म पुग्दा धेरै संघर्ष र सिकाइ छ,’ उनी भन्छन्, ‘व्यवसाय विस्तारको आधार भनेकै विश्वास र सहकार्य हो । त्यसैले मसँग काम गरेका धेरै साथीहरू अहिले साझेदारका रूपमा छन् ।’
कर्मचारीदेखि उनले विभिन्न क्षेत्रमा आवद्ध रहेका व्यवसायी तथा कर्मचारीहरूलाई समेत प्रेसिडेन्ट ग्रुपको साझेदार बनाएका छन् । ‘म सामान्य परिवारबाट यहाँसम्म आइपुगेको हुँ । यहाँसम्म आउदा मलाई सजिलो भने पक्कै थिएन, मैले विगतमा गरेका दुख र कष्टलाई सम्झेर नै मैले मेरा कर्मचारीहरूलाई साझेदार बनाएको हुँ’, उनले भने ।
उनको ध्यान व्यवसाय विस्तार र फरक स्वादमा मात्रै केन्द्रीत रहेको छ । उनले होटल विस्तारलाई नै केन्द्रमा राखेर आफू बस्ने एउटा घर समेत बनाएका छैनन् भने आफ्नो नाममा कतै पनि जग्गा नभएको बताए ।
‘मेरो अहिलेको ध्यान भनेको होटल विस्तार र मेरा ग्राहकलाई फरक स्वाद चखाउनु हो । अधिकांश मानिस भाडाकै घरमा बस्दै आउनुभएको छ,’ उनले भने,‘म भाडाको घरमा बसेर एउटा नयाँ आउटलेट बनाउन सके भने त्यसबाट धेरैले नयाँ स्वाद पाउनुहुन्छ । त्यही भएर म अहिलेपनि भाडाकै घरमा बस्छु, कतै जग्गा जोडेको छैन ।’
खादा ओडाएर विदेश पठाएका साथी अहिले साझेदार
भण्डारीका गाउँका अधिकांश साथीभाइहरू अहिले विभिन्न देशका गैरआवासीय नेपाली भएका छन् । उनीसँगै हुर्केका साथी तथा आफूले नै खादा ओडाएर विदेश पठाएका अधिकाशं साथी अहिले उनको व्यवसायिक साझेदार भएका छन् ।
‘म काठमाडौँमै हुँदा नेपालमा बसेर के हुन्छ, विदेश जाने हो भन्ने मेरा साथीहरू । जसलाई मैले नै खादा ओडाएर विदेश पढाएको थिए । अहिले उहाँहरूले तैले नेपालमा धेरै राम्रो गरेको छस् मलाई पनि पार्टनर राख भन्छन्’, उनले साथीको कुरा सुनाउँदै भने, ‘जापान, फिन्डल्याण्ड, न्यूजिल्याण्ड लगायतका देशका एनआरएन अहिले मेरै व्यवसायिक साझेदार हुनुहुन्छ ।’
उनीसँग अहिले २५ जनाको साझेदारी रहेको छ भने ३ सयभन्दा बढी कर्मचारीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
प्रेसिडेन्ट ब्राण्ड लै फोकर्स
अहिले विभिन्न स्थानमा नेपालका सम्भावनाको क्षेत्र भनेर ३ वटा क्षेत्रलाई आधार बनाएर चर्चा गरिन्छ । कृषि, पर्यटन र जलविद्युतमध्ये उनको पहिलो रोजाई नै पर्यटन बन्यो ।
पर्यटनभित्र नै रहेको आतित्थ सत्कारलाई छोडेर अन्यत्र लगानी गर्ने कुनै सोच नभएको उनी बताउँछन् । ‘ऊर्जा क्षेत्रमा लगानी गर्न ठूलो लगानीको आवश्यक पर्छ, तत्काल त्यो जुटाउन सहज पनि छैन,’ भण्डारी भन्छन्,‘मेरो अनुभव र योग्यताका आधारमा मैले पर्यटन क्षेत्रभन्दा बाहेक अन्यत्र तत्काल लगानी गर्नसक्ने अवस्था छैन, त्यही कारण अहिले मेरो फोकस भनेको प्रेसिडेन्ट ब्राण्डलाई अझै विस्तार गर्ने नै हो ।’
भण्डारीको ध्यान अहिले पूर्ण रूपमा हस्पिटालिटी क्षेत्रको विस्तार र सेवा गुणस्तर सुधारमा केन्द्रित छ । उनी भन्छन्, ‘मेरो फोकस पर्यटन र आतिथ्य क्षेत्रमै छ, जहाँ नेपालले ठूलो सम्भावना बोकेको छ ।’
त्यसैगरी, उनी व्यवसायिक वातावरण स्थिर र लगानीमैत्री हुनुपर्नेमा जोड दिन्छन् । स्थिर नीति, सुरक्षा र लगानीको सुनिश्चितता भएमा पर्यटन क्षेत्र अझ तीव्र गतिमा अघि बढ्न सक्ने उनको विश्वास छ ।
नयाँ सरकारप्रति आशा
सरकारले आफुहरूजस्ता व्यवसायीलाई निडर रुपमा लगानीको वातावरण दिनुपर्ने भण्डारी बताउँछन् । लगानीसँगै व्यवसायीको सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा उनको जोड छ ।
‘अहिलेको सरकारमाथि हामीले आश गर्नुपर्ने केही आधारहरू देखिएको छ । स्थीर सरकार नहुँदा नै धेरै दुख खेपेका हामी व्यवसायीलाई अहिलेको सरकार ५ वर्ष टिक्छ की भन्ने आशा हो,’ उनी भन्छन्,‘हाम्रो आशा र अपेक्षा अनुसार स्थिर सरकार बन्यो भने धेरैभन्दा धेरै विदेशी पर्यटकलाई नेपाल भित्र्याउन सकिन्छ ।’
भण्डारीको वर्षौंको मेहनत, अनुभव र निरन्तर संघर्षपछि उनी अहिले प्रतिष्ठित ‘प्रेसिडेन्ट ग्रुप’का अध्यक्ष बनेका छन् । जुन होटलमा कहिल्यै कर्मचारीको रूपमा काम गर्थे, आज त्यही क्षेत्रका सफल व्यवसायीका रूपमा परिचित छन् । प्रेसिडेन्ट होटलमार्फत उनले नेपालको आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गरेका छन् ।
भण्डारीको यात्रा केवल व्यक्तिगत सफलता होइन, गाउँबाट सपना बोकेर राजधानी आउने हजारौँ युवाका लागि प्रेरणाको कथा पनि हो । सीमित स्रोत भए पनि ठूलो सोच, निरन्तर मेहनत र हार नमान्ने आत्मविश्वासले मानिसलाई कहाँसम्म पु¥याउन सक्छ भन्ने उदाहरण हुन् उनी ।
आज उनले व्यवसाय मात्र विस्तार गरेका छैनन्, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन र नेपाली होटल उद्योगलाई नयाँ उचाइमा पुर्याउने काममा समेत योगदान दिइरहेका छन् ।
आज उनी केवल प्रेसिडेन्ट ग्रुपका अध्यक्ष मात्र होइनन्, देशभरका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूको छाता संस्था होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्षको जिम्मेवारीमा समेत छन् ।
उनको नेतृत्वमा महासंघले होटल तथा रेस्टुरेन्ट क्षेत्रसँग सम्बन्धित कर नीति, श्रम व्यवस्थापन, पर्यटन प्रवद्र्धन, लगानीमैत्री वातावरण, व्यवसायी सुरक्षा, सीप विकास तथा पर्यटन पूर्वाधारका विषयमा संघीय, प्रदेश र स्थानीय सरकारसँग निरन्तर संवाद गर्दै आएको छ ।
भण्डारीको विश्वास छ, नेपालको पर्यटन क्षेत्र बलियो बन्न निजी क्षेत्र, सरकार र स्थानीय समुदायबीच सहकार्य आवश्यक छ । उनी बारम्बार भन्ने गर्छन्, ‘मेरो व्यवसाय मात्र राम्रो भएर पुग्दैन, देशभरका व्यवसायीको अवस्था राम्रो हुनुपर्छ । पर्यटन र आतिथ्य क्षेत्रको समग्र वातावरण सुधार नभएसम्म दीगो विकास सम्भव हुँदैन ।’

