काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) लाई सरकारले व्यवस्थित गर्ने बताएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा तमु ह्युला छोंज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति लमजुङले आयोजना गरेको तमु ल्होछार शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्न सकेमा देशको अरबौँ राजस्व बचत हुने उनले बताए ।
मन्त्रालयले गर्नुपर्ने मुख्य काम मध्य सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याउनु रहेकाले सरकारको ध्यान त्यसतर्फ गएको बताए ।
नेपालमा हुलाक टिकट समेत आफ्नो प्रेसमा छाप्न सकिएको अवस्था नरहेको बताउँदै मन्त्री गुरुङले वर्तमान सरकारले सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गरेर आफ्नै प्रेस सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
प्रेस सञ्चालनमा देखिएका समस्या र अवरोधहरुलाई समधान गरेर सरकारले यसलाई छिटै प्रक्रियामा लैजाने मन्त्री गुरुङले बताए । प्रेस पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकेमा हुलाक टिकट, लेबल–स्टिकर, लालपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा विद्यालयलगायत क्षेत्रका परिचयपत्र, राहदानी, बैंक नोट छाप्न विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुने बताए । नेपालीका लागि आवश्यक छपाइसँग जोडिएका सबै नेपालमै हुने गरि प्रेस सञ्चालनमा ल्याउने उनले बताए ।
उनले फरक प्रसंगमा बोल्दै सहकारी ठगीमा संलग्न कसैलाई पनि नछोड्ने बताए । सहकारी ठगी सम्वन्धी बनेका संसदीय छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने उनले बताए । बचत तथा ऋण सहकारीहरुको कारोबार गर्ने संस्थाले अव स्थानिय तहमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको मन्त्री गुरुङले बताए । हाल सञ्चालनमा रहेका सहकारीहरुको बर्गिकरण वर्गिकरण नियमन समितिले गर्नेछ र एक व्यक्ति एक सहकारीको मात्र सदस्य बन्न पाउने, एक व्यक्ति दुई कार्यकाल भन्दा कार्यकारी पदमा दोहोरीन नपाउने, बचत गर्दा आम्दानीको श्रोत खुलाउनुपर्ने लगायतको प्रावधान रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले राज्यको हरेक तहमा गुरुङहरुको सहभागीता हुनुपर्ने बताए । आफ्नो संस्कार, संस्कृती, कला र मौलीकताको संरक्षण गर्नु आजको आवश्कता रहेको बताए । पछिल्लो समय गुरुङहरुको पुख्र्यौली थलो खाली हुँदै गएको छ । युवाहरु देश छोडिरहेका छन् त्यस तर्फ तमुहरुको ध्यान जानुपर्ने उनले बताए । पोषाक, खानपान, भाषा, कला संस्कृती तमुहरुको सम्पती भएको बताउँदै यसको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । राज्यले सवैको समान सहभागीता होस भनेर आरक्षणको व्यवस्था गरेको छ तर गुरुङ समुदायले त्यसको भरपुर प्रयोग गरेको देखिँदैन त्यस तर्फपनि ध्यान दिनुपर्ने बताए ।

