काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिकाले प्रतिक चिन्ह (लोगो) निर्माण गरेको छ । गाउँपालिकाले प्रशासनिक प्रयोजनका लागि आफ्नै लोगो निर्माण गरेको हो ।
प्रशासनिक प्रयोजनको लागि निर्माण गरिएको प्रतिक चिन्ह (लोगो) ले गाउँपालिकाको धार्मिक, सांस्कृतिक र प्राकृतिक पहिचान बोकेको छ । प्रतिक चिन्ह निर्माणका लागी गाउँपालिकाले सार्वजनिक सुचना जारी गरेर आवेदन माग गरेको थियो । गत मंसिर १० गते सुचना जारी गर्दै प्रतिक चिन्ह (लोगो) निर्माणको आवेदन खुला गरेको थियो । आवेदन माग गरिएको निर्धारीत समयभित्र प्राप्त भएका आवेदकबाट निर्माण गरिएको उत्कृष्ट प्रतिक चिन्हलाई गाउँपालिकाले छनौट गरेर सार्वजनिक गरेको छ ।
गाउँपालिकाको आधिकारीक फेसबुक मार्फत उक्त प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको हो । पुष १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले छनौट गरेको उक्त लोगो दोर्दी गाउँपालिकाको सभाले पास गरेपछी मात्रै प्रयोगमा ल्याइने गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । आवेदक मध्य श्रीमञ्ज्याङ प्रहरी चौकी नौथर शेरामा कार्यरत प्रहरी जवान अनिल भण्डारीले डिजाइन गरेको प्रतिक चिन्ह (लोगो) सर्वोत्कृष्ट हुन सफल भएको अधिकारीले बताए ।
सर्वोत्कृष्ट लोगो डिजाइन गर्ने प्रहरी जवान भण्डारीलाई गाउँपालिकाले नगद २५ हजार रुपैयाँ सहित पुरस्कृत गर्ने निर्णय गरेको छ । गाउँपालिकाले निर्माण गरेको लोगो गाउँसभाले पास गरेपछि हरेक कार्यक्रम, ब्यानर र सबैतिर लोगो प्रयोगमा आउने उनले बताए ।
लोगोमा दोर्दी गाउँपालिकाको नारा (स्लोगन) प्रष्ट रुपमा उल्लेख गरिएको छ । गोलो परिधि भित्र नेपालको राष्ट्रिय झण्डा समावेश गरिएको छ । गोलो परिधि भित्र गाउँपालिकाको नाम दोर्दी गाउँपालिका प्रष्ट बुझिने गरि लेखिएको छ । गाउँपलिका भित्र पाईने र मौलिकतामा आधारित चित्रहरु अंकित गरिएको छ ।
डाँडाबाट घाम झुल्किएको चित्र सहित दोर्दी र किसेदीलाई अंकित गर्दै नदिको चिन्ह प्रयोग गरिएको छ । स्थानिय ठाउँमा पाईने लालिगुँरास डिजाईनको दाँया र बाँया तर्फ राखिएको छ । डिजाईनलाई आकर्षक बनाउनको लागि एका तर्फ चन्द्र र अर्को तर्फ सुर्य अकिंत गरिएको देख्न सकिन्छ । दोर्दी गाउँपालिकाको नक्सा हु–बहु जस्ताको तस्तै वडा अनुसार विभाजन गरि लोगोको बिचमा राखिएको लगो डिजाइनकर्ता प्रहरी जवान अनिल भण्डारीले बताए ।
भिर मौरीको मह सिकार गर्दै गरेको चित्र, हाईकिङ (ट्रेकिङ) को लागि प्रख्यात लिपे डाँडालाई संकेत गर्दै चित्र समावेश गरिएको छ । दोर्दी गाउँपालिका हाईड्रोपावरले परिचित भएकाले हाईड्रो को चित्र समेत समावेश गरिएको भण्डारीले बताए । दोर्दी गाउँपालिकामा पर्ने बुद्ध हिमाललाई संकेत गरी चित्र समावेश गरिएको छ । वन जंगल र वन्यजन्तु प्रसस्त भएको हुँदा सो को संकेत उल्लेख गरिएको छ । गाउँपालिकाको फलको रुपमा सुन्तला समावेश गरिएको, गाउँपालिका भित्र बसोवास गर्ने सम्पुर्ण जातित्वको मोैलिक पहिचान सहित चित्र अंकित गरिएको देख्न सकिन्छ ।
धान प्रसस्त मात्रमा उत्पादन हुने हुँदा लोगोको दाँया र बायाँ तर्फ धानको बाला समावेश गरि लोगो लाई थप आकर्षक बनाईएको छ । गाउँपालिकाको ठेगाना प्रष्ट देखिने गरि लेखिएको, गाउँपालिका स्थापना मिति सालमा लेखिएको, लोगोको तल अंग्रेजिमा गाउँपालिकाको नाम उल्लेख गरिएको जसलाई आकर्षक बनाउन रातो कलरको पट्टि प्रयोग गरिएको छ ।
लोगो निर्माणकर्ता भण्डारीले यसअघि विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाको लोगोहरु डिजाइन गरिसकेको बताए । आँफु लामो समय आइटी क्षेत्रमा काम गरेको अनुभवका कारण सहज भएको उनको भनाई छ । उनले सडकमा प्रयोग गरिने सांकेतिक चिन्हहरु, सिमेन्ट कम्पनीहरु, आल्मुनियम कम्पनीहरु तथा कन्सलटेन्सीहरुको समेत डिजाइन निर्माण गरिसकेका छन् ।

