काठमाडौं । सरकारले ल्याउन लागेको पर्यटन नीतिले समग्र पर्यटन क्षेत्रको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल(टान)को सक्रियतामा ‘मस्यौदा पर्यटन नीति २०८१ नीजि क्षेत्रका तर्फबाट दिइने सुझाव’ सम्बन्धी संयुक्त अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायीहरुले राष्ट्रिय पर्यटन नीतिले साझा समस्यालाई समाधान गर्ने किसिमको हुनुपर्ने बताए ।
उक्त नीतिले पर्यटनमुखी ऐन तथा पर्यटन अभिवृद्धिका लागि जोड दिनुपर्ने सुझाव दिइएको छ । नीतिगत ढंगबाट पर्यटनसँग सम्बन्धित समस्याहरूलाई समाधान गर्न टानले लगातार छलफलहरू गरिरहेको छ ।
छलफलको नेतृत्व गरेका टानका अध्यक्ष सागर पाण्डेले पर्यटन मुखी नीति बनाएर देशको अर्थतन्त्रलाई र समग्र पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिए । साझा समस्या उठाउँदै पर्यटन विकासका लागि सरकारलाई झकझकाउन सम्पूर्ण पर्यटन व्यवसायीहरू एक ढिक्का भएर अघि बढ्ने उनको भनाइ छ ।
सोही सिलसिलामा पर्यटन ऐनमा सुझाव दिनका लागि आयोजित एक कार्यक्रममा सम्पूर्ण पर्यटन व्यवसायिक संस्थाहरूले पर्यटन मन्त्रालयका सचिव सहसचिव पर्यटन बोर्डका पदाधिकारी तथा नागरिक उड्डयन प्राधिकरण लगायतका पर्यटनसँग सम्बन्धित सरकारी निकायका अधिकारीसँग छलफल गरिएको छ ।
टानका अध्यक्ष पाण्डेले भने,‘छिट्टै हामी सबै सरोकार र सुझावहरू समेटेर दस्तावेजलाई अन्तिम रूप दिनेछौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्री प्रसाद पाण्डे र श्रीमान सचिव गणेश पी. पाण्डेलाई हस्तान्तरण गर्नेछौं ।’

