काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन महशुलको बक्यौता रकम भुक्तानी नगरेको भन्दै पुनः तीन उद्योगको लाइन काटेको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटिएको हो । डेडिकेटेड र ट्रंकलाइनको महशुलको विषयलाई लिएर प्राधिकरणले मंगलबार राति ९ बजे तीन उद्योगको लाइन काटेको हो ।
प्राधिकरणका अनुसार रिलायन्सले ७५ करोड ३७ लाख, अर्घाखाँचीले ४४ करोड ८६ लाख र घोराही सिमेन्ट उद्योगले ५१ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । ती उद्योगहरुले २०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेको प्राधिकरणको भनाइ छ ।
यसअघि पनि प्राधिकरणले यहीं विषयलाई लिएर २ पुस २०८० का दिन विभिन्न उद्योगको बिजुलीको लाइन काटेको थियो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालको सक्रियतामा मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।
सरकारले आयोगको निर्णय कार्यान्वयन गर्न विद्युत् प्राधिकरणलाई निर्देशन समेत दिएको थियो । तर, विद्युत् प्राधिकरणले लाल आयोगले दिएको सुझाव तथा मन्त्रिपरिषद्ले दिएको निर्देशन विपरीत हुनेगरी उद्योगीलाई महशुल शुल्क तिर्न पत्र पठाएको उद्योगीहरूको गुनासो छ ।

