काठमाडौं । काठमाडौं महानगरको सहकारी विभागमा बचतकर्ताले ४ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ निक्षेप उठाइदिन माग गर्दै निवेदन दिएका छन्।
महानगरको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले सहकारी संस्थाबाट बचत रकम फिर्ता ल्याइदिन माग गरेका हुन्।
महानगर कार्यक्षेत्र भएका सहकारीबाट भएको बदमासीपछि अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारी बचतकर्ताले बचत मागेको महानगरले जनाएको छ।
महानगर कार्यक्षेत्र भएका १ हजार ९१७ वटा सहकारी संस्था छन्। यीमध्ये सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा १ हजार ७४४ संस्था दर्ता छन्।
तर, वार्षिक प्रतिवेदन बुझाउनेको संख्या ८३८ मात्र रहेको महानगरको तथ्यांकमा उल्लेख छ। तत्कालीन डिभिजन सहकारी कार्यालयले गर्दै आएका काम २०७५ साउन १ गतेदेखि महानगरमा हस्तान्तरण गरिएको थियो।

