काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै २३ स्थानीय तहमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसिएको जानकारी दियो ।
बुधबार सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मन्त्रीस्तरीय निर्णय गर्दै देशभर रहेका १० नगरपालिका र १३ वटा गाउँपालिका गरी २३ वटा स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारीबाट हटाएको हो ।
मन्त्रालयको तथ्यांक अनुसार हाल २ सय २६ स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित छन् । यती ठूलो संख्यामा स्थानीय तह निमित्तको भरमा सञ्चालित हुँदा हुँदै सामान्य प्रशासनमन्त्री गुप्ताले २३ वटा स्थानीय तहको मात्रै निमित्तको जिम्मेवारी किन खोसे ।
सीएनएन खबरले सामान्य प्रशासनमन्त्री गुप्तालाई २३ जनाको मात्रै जिम्मेवारी किन खोसिएको भनेर प्रश्न गरेको छ ।
हाम्रो प्रश्नमा उनले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानीय तहमा रहेका उनीहरुको अधिकार खोसिएको बताए ।
‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकेका स्थानीय तहमा त्यहाँ कार्यरत कर्मचारीमध्येबाट वरिष्ठलाई निमित्त प्रशासकीय प्रमुखको जिम्मेवारी दिने व्यवस्था छ’, उनले भने, ‘तर २३ वटा स्थानीय तहमा ३÷४ जना वरिष्ठ रहेको अवस्थामा कनिष्ठलाई जिम्मेवारी दिइएको रहेछ, मैले सोही जिम्मेवारी खोसेको हुँ ।’
उनका अनुसार जिम्मेवारी खोसिएका उक्त स्थानीय तहमा तत्कालका लागि जेष्ठताका आधारमा कार्यरत कर्मचारीलाई नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइनेछ ।
‘माघ २४ गते थप नयाँ अधिकृत आउँदै हुनुहुन्छ, उहाँहरु आएपछि हामीले निमित्तको भरमा रहेका स्थानीय तहमा प्रमुख प्रशासकीयको अधिकार दिएर पठाउँछौँ, अहिले जेष्ठताको आधारमा निमित्तकै भरमा सञ्चालन गर्नुपर्ने हाम्रो बाध्यता छ’, उनले भने ।
प्रमुख प्रशासकीय अधिकृतका लागि महानगरपालिका र उपमहानगरपालिकामा सहसचिव, नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृतको दरबन्दी छ । तर, दरबन्दीअनुसार खटनपटन गर्न नसक्दा कतिपय स्थानीय तहमा सोही पालिकाका कर्मचारी त कतिपयमा संघबाटै खटिएका तल्ला तहका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।
२३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको खोसियो जिम्मेवारी

