काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको मस्यौदा पारित गर्न शुक्रबार राष्ट्र बैंकको बोर्ड बैठक बस्न लागेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज (शुक्रबार) बिहान ८ बजे बैठक डाकेका हुन् । उनले आगामी मौद्रिक नीतिको अन्तिम तयारीबारे अर्थमन्त्री विष्णु पौडेललाई बिहीबार ब्रिफिङ गरिसकेका छन् ।
राष्ट्र बैंक व्यवस्थापन समिति बैठकमा मौद्रिक नीतिबारेको छलफल सकिए लगत्तै बिहीबार १ बजे अधिकारीले अर्थमन्त्री पौडेललाई भेटेर ब्रिफिङ गरेका हुन् ।
आज बस्न लागेको राष्ट्र बैंक बोर्ड बैठकले मौद्रिक नीतिको मस्यौदामा छलफल गरी पारित गर्नेछ । यदि बोर्ड बैठकले पारित गर्याे भने आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंक स्रोतले बतायाे ।
राष्ट्र बैंकको अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीतिको मस्यौदालाई उच्च व्यवस्थापनले हिजै अन्तिम रूप दिइसकेको बताइएको छ । स्रोतका अनुसार यसपटक लचिलो मौद्रिक नीतिको मस्यौदा तयार भएको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिप्रति अपेक्षा धेरै नै रहेकोले सबैको समाधान मौद्रिक नीति हुन सक्दैन् । यद्यपि निजी क्षेत्र र बैंकर्सको समस्या सम्बोधन गर्नेमा मौद्रिक केन्द्रित हुनेछ ।

