काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन्् । नेपाल उद्योग परिसंघसँगको छलफलमा उनले यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै आफू नआएको दाबी गरे ।
उनले अर्थतन्त्रलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रलाई यो सरकारप्रति आशा, भरोसा हुनैपर्ने समेत बताए । ‘मुलुकको प्रधानमन्त्री बन्नको लागि मात्र म आएको होइन । समस्या देखेर, समस्याको समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नैपर्छ भनेर आएको हुँ’, उनले भने, ‘त्यसैले तपाईहरुको आशा भरोसा हामीमाथि हुनैपर्छ ।’
कुनै पनि करका विषय अनुहार हेरेर गर्न नहुने भन्दै उनले गलत नीति लिएको बेला निजी क्षेत्रले त्यसको विरोध गर्न सक्नुपर्ने समेत बताए । प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिदैँ मौद्रिक नीति कठोर हुन नहुने बताए ।
प्रधानमन्त्री ओलीलाई परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिदैँ अध्यक्ष राजेश कुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकार चुक्न नहुने बताए । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भएपनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको दृष्तान्त दिदैँ उनले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिए । विगतका संकुचनकारी मौद्रिक नीतिका कारण समग्र बजार मागमा संकुचन आएको र अर्थतन्त्र शिथिल बन्न पुगेको अध्यक्ष अग्रवालले बताए ।

