काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासलाई प्राथमिकता दिँदै स्वदेशमै रोजगारी सिर्जना गर्न अनुकूल वातावरण निर्माण गर्नुपर्ने बताएका छन्। नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य संघ संस्थाहरुको सहआयोजनामा काठमाडौंमा आयोजित पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष ढकालले राजनीतिक र नीतिगत स्थिरताको आवश्यकतामा जोड दिए। उनले रोजगारी सिर्जना र लगानी प्रवर्द्धनका लागि स्थायित्व अपरिहार्य रहेको उल्लेख गरे।
अध्यक्ष ढकालका अनुसार, एकातर्फ नेपाली श्रमशक्तिले नेपालमै पर्याप्त रोजगारी अवसरहरू पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारदाताले आफूले खोजेअनुसारको सीपयुक्त जनशक्ति भेट्न मुस्किल भइरहेको छ। यस अवस्थाले धेरै नेपालीहरू बाध्यतात्मक रूपमा वैदेशिक रोजगारीमा जानुपर्ने परिस्थिति निम्त्याएको छ। ‘रोजगारीको माग, आपूर्ति, सीप विकास तथा रोजगार सम्बन्धी अन्तरलाई विश्लेषण गरी श्रम तथा रोजगारका नयाँ अवसरहरू खोज्न आवश्यक छ। यसका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ‘,उनले भने।
उनले औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथामिकता हुनुपर्ने बताए । अध्यक्ष ढकालले निजी क्षेत्रलाई रोजगारी सिर्जनाको वास्तविक चालकको रूपमा व्याख्या गर्दै औद्योगिक वातावरण निर्माणका लागि सहज नीति आवश्यक रहेको बताए। उनले कानुनी असहजता तथा प्रशासनिक जटिलता हटाउन र नीतिगत अप्ठ्यारो सिर्जना नगर्न आग्रह गरे।
नेपालको कुल रोजगारीको ८६ प्रतिशत भन्दा बढी निजी क्षेत्रले प्रदान गरिरहेको तथ्यांक प्रस्तुत गर्दै उनले निजी क्षेत्रको लगानीले सरकार र स्थानीय समुदाय दुवैलाई लाभ पुर्याउने बताए। ढकालका अनुसार, विकास निर्माण र पूर्वाधार विस्तारका विषयमा सरकार, राजनीतिक दलहरू र निजी क्षेत्रले साझा धारणा बनाउन आवश्यक छ।
नेपाल सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै ढकालले उत्पादन र उत्पादकत्व विस्तारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनले औद्योगिक वातावरण निर्माणका लागि रोजगारदाता र ट्रेड युनियन संगठनहरूबीच सुमधुर सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै महासंघले रोजगारदाता र श्रमिकहरूबीच राम्रो समन्वय कायम गर्ने प्रयास गरिरहेको जानकारी दिए।
अध्यक्ष ढकालले महासंघको पहलमा सरकारले विभिन्न कानूनहरू संशोधन गरी संसद्बाट हालै पारित गरेको विषय सकारात्मक भएको भन्दै ती कानून कार्यान्वयनका लागि नियमावली तथा कार्यविधिहरू चाँडो ल्याउन सरकारसँग आग्रह गरे।

