काठमाडौँ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले तीन महिनाभित्र बक्यौता रकम भुक्तानी गर्ने शर्तमा काटिएका उद्योगमा विद्युत सुचारु गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली सुचारु गर्ने निर्णय गरेको हो ।
बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।
‘तीन महिनाभित्र उद्योगीहरुले बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः बक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी विद्युत नियमन आयोगको निर्देशन अनुसार उद्योगहरुको विद्युत लाईन जोड्ने’, निर्णय भएको प्राधिकरणले जनाएको छ ।
यस्तै, प्राधिकरणले लाईन काटिएका ६ वटा उद्योगहरुको विद्युत मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिने समेत जनाएको छ ।

