काठमाडौं । गणतन्त्र पक्षधर दलहरुले गणतन्त्र र संविधानको रक्षाका लागि सबै एक जुट हुने निर्णय गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधरको सर्वदलीय बैठकले संविधान र गणतन्त्रको पक्षमा एकमत हुने निर्णय गरेको हो । बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुको पछिल्लो गतिविधिको विषयमा छलफल भएको थियो ।
बैठकपछि गृहमन्त्री रमेश लेखकले गणतन्त्र र संविधानको रक्षाका लागि एक जुट भएर अघि बढ्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार व्यवस्था उल्ट्याउने र संविधानलाई नै समाप्त पार्ने गतिविधिको मुख्य जिम्मेवार पूर्व राजा नै रहेको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री कृष्ण सिटौला, कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसालको सहभागीता थियो ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्षा डा।बाबुराम भट्टराईलगायत शीर्ष नेता सहभागी थिए।

