काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति पास गर्न शुक्रबार बिहान सञ्चालक समितिको बैठकको बोलाएको बताए ।
उनले शुक्रबार बिहान ८ बजे बोर्ड बैठक बोलाएका छन् । बोर्ड बैठकले निर्णय गरेपछि गर्भनर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नेछन् । गत शुक्रबार मौद्रिक नीति सार्वजनिकको तयारी गरेको भएतापनि अन्तिम समयमा आएर रोकिएको थियो ।
राष्ट्र बैंककै पूर्वगभर्नर तथा अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मौद्रिक नीतिको मस्यौदा हेर्न चाहेपछि मौद्रिक नीति रोकिएको थियो ।
एक साताको समय लगाएर प्रधानमन्त्रीको कार्यालयबाट परिमार्जनसहितको मौद्रिक नीति मस्यौदा आएपछि शुक्रबार सार्वजनिक गर्न लागिएको हो ।
मौद्रिक नीतिको मस्यौदा व्यवस्थापन समितिले पास गरिसकेकाले पुनः व्यवस्थापन समिति बैठक बस्ने छैन । सीधै सञ्चालक समितिले अनुमोदन गरेपछि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुँदैछ ।

